डमरुमा लुकाएर रक्तचन्दन तस्करी, बौद्धबाट ४ जना पक्राउ

काठमाडौं । दुर्लभ वनस्पती रक्तचन्द तस्करी गर्न तस्कर समूहले अनेक उपाय रच्ने गरेका छन् । महानगरीय अपराध महाशाखाले धार्मिक काममा प्रयोग हुने डमरुभित्र लुकाएर रक्तचन्दनको कारोबार गर्ने ४ जनालाई काठमाडौंको बौद्धबाट पक्रेको छ । पक्राउ पर्नेमा नुवाकोट किस्पाङ गाउँपालिका घर भएका सुनिल तामाङ, म्याजम गापा घर भएका २८ वर्षीय ओमबहादुर तामाङ, काभ्रे तिमालका २९ वर्षीय कैलाश तामाङ र सिन्धुपाल्चोक हेलम्बु घर भएका ४२ वर्षीय लाक्का लामा रहेका छन् ।

पक्राउ गरिएकाहरुको साथबाट २१ किलो ९ सय ग्राम रत्तचन्दन बरामद गरिएको महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाले रातोपाटीलाई बताए । सो समूहले काठमाडौँ महानगरपालिका–६ बौद्ध तिनचुलीमा डमरु कारखाना खोलेर सोही आवरणमा रक्तचन्दनको काम गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । बरामद रक्तचन्दनको मूल्य १ लाख ८६ हजार १५० रुपैयाँ पर्छ ।

योजनाकार फरार

रक्तचन्दन कारोबारमा संलग्न चार जनाले डमरुमा रक्तचन्दन भर्ने जिम्मा मात्र पाएका थिए । तस्करीका मुख्य योजनाकार भने फरार छन् । नुवाकोट म्याजम गाउँपालिकाका ओमबहादुर तामाङ र रविन गुरुङको भेट नयाँ दिल्लीमा भयो । लकडाउन पछि काठमाडौं आएका ओमबहादुरले रविनलाई डमरु कारखानाका सम्पर्कमा लगे ।

रविनले दुईवटा रक्तचन्दनको मुढा दिएर त्यसलाई डमरुमा सेट गर्न भन्दै आफुसँग अरु धेरै रक्तचन्दन रहेको जानकारी गराए । प्रतिकिलो ८ हजार ५ सयमा बेच्नका लागी रविनको योजनामा कैलास र लाक्पा आइतबार ‘ग्राहक डिल’ गर्दै थिए । करिब ५ सय केजी रक्तचन्दन बेचबिखन गर्न लागेको सुराकका आधारमा अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । तर, मुख्य योजनाकार रविन गुरुङ फरार छन् । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार