दाङमा गाडी दुर्घटना हुँदा ६ जना घाइते

दाङ । दाङमा स्कार्पियो दुर्घटनामा हुँदा सल्यानका तीन पत्रकारसहित छ जना घाइते भएका छन्। घोराही–लमही सडकखण्डको बेलदमारमा बिहीबार बिहान भएको दुर्घटनामा परी सल्यानका पत्रकारहरू खगेन्द्र केसी, वीरेन्द्र डिसी र तुलसीराम परियार घाइते भएको प्रहरीले जानकारी दिएको छ।

उक्त दुर्घटनामा परी पत्रकार केसीकी १५ वर्षीया बहिनी नोखा केसी, गाडी चालक सल्यानकै सन्तोष बुढाथोकी र दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी प्रकाश वली पनि घाइते भएका छन्। घाइते पत्रकारमध्ये परियारको ढाडमा भित्री चोट लागेको हुँदा अवस्था अलि गम्भीर रहेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमत खड्काले भने गाडी चालक बुढाथोकीको अवस्थामात्रै गम्भीर रहेको जानकारी दिए।

‘चालकबाहेक अन्य सबैको अवस्था सामान्य छ भन्ने कुरा आएको छ,’ खड्काले भने, ‘सबैको उद्धार गरी उपचारका लागि लमहीतर्फ पठाइसकिएको छ।’
लमहीबाट घोराहीतर्फ आउँदै गरेको बा ११ च ९५१३ नम्बरको उक्त स्कार्पियो तीव्र गतिका कारण अनियन्त्रित भई लमही नगरपालिका वडा नं। ६ बेलदमार नजिकै बिहान पौने ९ बजेतिर दुर्घटना परेको डिएसपी खड्काले जानकारी दिए। दुर्घटनाग्रस्त स्कार्पियो सडकदेखि ३३ मिटर तल खसेको प्रहरीले बताएको छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार