प्रधानमन्त्री ओलीलाई भेटेर फर्किए रअ प्रमुख गोयल

काठमाडौँ । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । रअ प्रमुख गोयल बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

भेटका क्रममा उनले नेपाल-भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राखेको पनि प्रेस सल्लाहकार थापाले बताएका छन् । केही सञ्चारमाध्यममा रअ प्रमुख गोयलले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पनि भेटेको समाचार प्रकाशित भए पनि त्यसलाई दाहालको सचिवालयले खण्डन गरेको छ ।

रअ प्रमुख गोयल बुधबार दिउँसो १ बजे चार्टर्ड विमानबाट त्रिभुवन विमानस्थलमा उत्रिएका थिए । विमानस्थल स्रोतका अनुसार गोयल सोही विमानमा बिहीबार बिहान सवा १० बजे नयाँ दिल्ली फर्किएका हुन् । ekantipurबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार