रसुवागढी नाकामा काम गर्ने चालक र कामदारको प्रत्येक हप्ता पिसिआर हुने

रसुवा । रसुवागढी नाकामा काम गर्ने नेपाली चालक र कामदारको प्रत्येक हप्ता पिसिआर गरिने भएको छ। चीनले कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै नाकामा काम गर्ने चालक र कामदारको पिसिआर गर्न लागेको हो।

आइतबारदेखि नाकाबाट आयात बढ्ने र कोरोनाको जोखिम कायमै रहेकाले चीनले नेपाललाई पिसिआर गर्न आग्रह गरेको थियो। तर नेपालमा प्रत्येक साता पिसिआर गर्ने मापदण्ड नभएको र कठिन हुने भएपछि चीनले आफैंले पिसिआर गरिदिने प्रतिवद्धता जनाएको हो।

यसअघि चिनियाँ सवारीले मितेरी पुलमा सामग्री झार्दै आएकोमा आइतबारदेखि नेपाली भूभागमा नै सामग्री झार्ने तयारी गरेको छ। यसका लागि नेपाली पक्षले व्यवस्थापनको काम गरिरहेको छ। चिनियाँ पक्षले नेपालमा नै सामग्री ल्याएर झार्ने र आयात बढाउने बताएको रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए।

रसुवागढी नाकाबाट बिहीबारदेखि आयात सुरु भएको थियो। कोभिड–१९ कारण पटक पटक बन्द हुँदै आएको नाकाबाट चिनियाँ पक्षले आयातमा कडाइ गरेको छ भने निर्यातका लागि अनुमति नै दिएको छैन। चिनियाँ सामग्री समयमा नै ल्याउन नसक्दा अहिले ल्हासा, सिगात्से, पाङसिङ लगायतका क्षेत्रमा रहेका गोदाममा सामग्री थन्किएको छ।

विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण चीनबाट सामग्री आयात र व्यवस्थापनमा समस्या हुँदै आएको छ। कोरोना संक्रमणको त्रासका कारण चिनियाँ पक्षले सामग्री मितेरी पुलमा झार्दै आएका छन्।

मितेरी पुलमा सामग्री झार्दा नेपाली पक्षलाई सामग्री लोड गरेर ल्याउन समस्या हुँदै आएको छ। चीनको केरुङमा ६ महिनादेखि सामग्री गोदाममा अड्किएको भएपनि सामग्रीको आयात न्यून भएको छ। अहिले केरुङस्थित पाङसिङको गोदाममा करिब १२ सय कन्टेनरमा आयात गर्न पुग्ने सामग्री रहेको छ।

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात हुँदै आएको छ। त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ।

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए। चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ। nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार