गण्डकीका ८५ प्रतिशत गाउँमा टेलिकमको फोरजी

पोखरा । नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ प्रतिशत स्थानीय तहमा चौथो पुस्ताको मोवाइल र इन्टरनेट सेवा (फोरजी) बिस्तार गरेको छ। सेवा बिस्तारको क्रममा टेलिकमले शुक्रबार गोरखाको माथिल्लो भेगको बारपाक–सुलिकोट गाउँपालिकाको क्षेत्रमा सेवा बिस्तार गरेको हो। मोवाइल सेवा नै नपुगेको ठाउँमा टेलिकमले उच्चगतिको इन्टरनेट सुविधासहितको सेवा बिस्तार गरेपछि स्थानीय खुसी भएका छन्।

गोरखाको बारपाक–सुलिकोट गाउँपालिका–३ स्थित रातमाटेमा बिटिएस राखेर आसपासका गाउँमा सेवा दिनेगरि चौथो पुस्ताको फोरजी सेवा बिस्तार गरेको टेलिकम पोखराका प्रमुख नरेन्द्रमान सिं महर्जनले जानकारी दिए। उनका अनुसार यो सेवाले अब उपल्लो भेगमा सञ्चार पहुँचमा सहज हुनेछ। ‘सबै ठाउँमा सहज इन्टनरेट र फोन सेवा उपलब्ध गराउने प्रयासमा लागिरहँदा यो सेवा बिस्तार गरिएको हो,’ उनले भने।

महर्जनका अनुसार गण्डकी प्रदेशका करिब ८५ प्रतिशत स्थानीय तहमा फोरजी सेवा बिस्तार भईसकेको छ। अब गोरखा, मनाङ लगायतका जिल्लाको उपल्लो भेगमा मात्र यो सेवा पुग्न बाँकी रहेका उनले बताए। आगामि मंसिरसम्म गण्डकीका सबै स्थानीय तहमा फोरजी सेवा बिस्तार हुने उनले बताए। शुक्रबार सेवा पुगेको गोरखाको यो गाउँ र आसपासका क्षेत्रमा यसअघि कुनैपनि कम्पनिको मोवाइल सेवा थिएन।

जिल्ला सदरमुकामबाट करिब ४५ किलोमिटर टाढाको यो गाउँमा फोरजीसँगै गाउँलेलाई निःशुल्क सिमकार्ड पनि वितरण गरिएको टेलिकम पोखराका बिक्री प्रमुख दिनेशमणि लामिछानेले बताए। गोरखाको उपल्लो भेगमा फोरजी सेवा पाउने यो नै पहिलो गाउँ पुगेको छ। सुलिकोट भन्दा माथिल्लो भेगमा अझै सेवा पुग्न बाँकी रहेको उनले बताए।

फोरजीमा द्रुतगतिको इन्टरनेट सेवा प्रदान गर्छ। सेवा बिस्तारसँगै यहाँ ३ सय सिमकार्ड पनि वितरण गरिएको छ। स्थानीयले निःशुल्क सिम पाएका छन्। सिमकार्डमा १० रुपैयाँको कल भ्यालु, ६० एमबी डाटा र ६० मिनटसम्म निःशुल्क कुरा गर्न पाउने सेवा पनि छ। महर्जन र बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले यो सेवाको शुभारम्भ गरेका थिए।

गाउँपालिकाका अध्यक्ष भट्टका अनुसार यसअघि गाउँमा मोवाइल सेवा पुगेका थिए। गाउँका चिसापानी, रातमाटे, चित्रे, पासाभित्ता लगायतका गाउँमा मोवाइल सेवा पुग्न नसकेको उनले बताए। त्यस्तै ७ नम्बर वडाको अमले, ढोडेनी, धारापानी क्षेत्रमा पनि मोवाइलको कुनै पनि सेवा थिएन। टेलिकमले फोरजी सेवा बिस्तार भएपछि इन्टरनेटमा बढी सहज भएको गाउँपालिका अध्यक्ष भट्टले बताए। nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार