९२ प्रतिशत गैरआवासीय नेपाली कोरोना संक्रमणमुक्त

काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विदेशमा विभिन्न मितिमा ९२ प्रतिशत नेपाली कोरोनामुक्त भएका छन् ।
गैरआवासीय नेपाली संघका अनुसार नेपाल बाहेक ४२ देशमा ३५ हजार ९ सय १६ जना कोरोनामुक्त भएका हुन् । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिवार साँझसम्म ३९ हजार ५ सय २८ नेपाली कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य समितिका संयोजक डा। संजीव सापकोटाका अनुसार यो साता साउथ अफ्रिकामा रहेका १ जना नेपालीको ज्यान गएको छ । समितिका अनुसार कोरोना संक्रमणका कारण विदेशमा १८ देशका २ सय ६६ जना नेपालीको ज्यान गएको छ । समितिका संयोजक डा। संजीव सापकोटाका अनुसार यो साता स्पेन, भारत, कतार, कुवेत, साउदी अरबमा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको हो ।

यस्तै, नेपालमा मात्र ८४ हजार ५ सय ७० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ती मध्ये ६२ हजार ७ सय ४० जना कोरोनामुक्त भएका छन् । यो कुल संक्रमितको ७४ दशमलव २ प्रतिशत हो । हालसम्म नेपालमा ५ सय २८ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।कोरोना भाइरसकै कारण नेपालसहित विश्वभर छरिएका नेपालीमध्ये १ लाख २४ हजार ९८ जनामा कोरोना संक्रमण भएको छ । तीमध्ये ९८ हजार ६ सय ५६ कोरोना भाइरसबाट मुक्त भएका छन् ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले सार्बजनिक स्थलमा कोरोना संक्रमणको जोखिम उच्च रहेको जनाएको छ । समितिका संयोजक सापकोटाले कोरोना संक्रमणबाट बच्ने एक मात्र उपाय स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुको अर्को विकल्प नभएको हुँदा सबैलाई माक्स प्रयोग गर्न र हात धुन आग्रह गरेका छन् । उनले कोरोना संक्रमणको आशंका लागेमा तत्काल स्वास्थ्य सेवामा सम्पर्क गर्न अनुरोध गरेका छन्। रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार