‘प्रहरी हुँ, तिम्रो दाजुलाई कारागारबाट रिहा गर्दिन्छु’ भन्दै ठगी गर्ने एक पक्राउ

काठमाडौँ । ‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने एक जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा अर्नामा गाउँपालिका बस्ने ३० वर्षीय मोहम्मद जाबिर रहेको प्रहरीले जनाएको छ ।

जाबिरले सिरहा बरियारपट्टी गाउँपालिका–४ का मुकेश कुमार साहलाई झुटो आश्वासन देखाएर ठगी गरेको पाइएको छ । मुकेश कुमार साहको दाई २३ वर्षीय शिव कुमार साह जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागारमा छन् । कारागारमा रहेका शिव कुमारलाई रिहा गर्दिन्छु भन्दै जाबिरले मुकेशसँग ३५ हजार रुपैयाँ ठगी गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

‘प्रहरी हुँ, म मुद्दा फँटमा काम गर्छु । तिम्रो दाजुलाई कारागारबाट रिहा गराउनेछु, रिहा गराए बापत ३५ हजार दिनुपर्ने’ बताएपछि मुकेशले पैसा दिएका थिए । काम नभएपछि पैसा फिर्ता माग्दा जाबिरले उल्टै मुकेशलाई डर धम्की दिने गर्थे । पैसा फिर्ता नगरेपछि मुकेशले प्रहरीमा जाहेरी दिएका हुन् । सोही जाहेरीका आधारमा जाबिरलाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार