मोरङमा गहुँ र दाल तस्करी

विराटनगर । तस्करी गरेर भारतबाट नेपाल भित्र्याइएको गहुँ र नेपाल बाट भारत तर्फ लैजाँदै गरेको दाल मोरङ प्रहरीले बरामद गरेको छ। मोरङको जहदा गाउँपालिकाका विभिन्न नाकाबाट तस्करी गरेर भित्र्याइएको गहुँ र भारत लैजाँदै गरेको दाल प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रहरीका अनुसार मोरङ जहदा गाउँपालिका १ कुलरियाका चन्द्र साहको घरमा अवैध रुपमा भारतबाट गहुँ ल्याएर भण्डारण गरिएको सूचनाका आधारमा प्रहरी पुग्दा उनको घर अगाडि भारतबाट गहुँ ल्याउँदै गरेका मानिसहरू साइकल र १० बोरा गहुँ छाडेर भागेका थिए। उक्त गहुँ बरामद गरेपछि प्रहरीले साहको घरमा पनि छापा मारेको थियो। उनको घरबाट थप ९४ बोरा गहुँ भारतबाट तस्करी गरी ल्याइ भण्डारण गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यस्तै जहदा गाउँपालिका ७ बाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको ५० बोरा मिक्स दाल पनि प्रहरीले बरामद गरेको छ। बरामद गरेको गहुँ र दाल भन्सार कार्यालय विराटनगरमा बुझाइएको मोरङ प्रहरीका प्रबक्ता मानबहादुर राईले बताए।nagariknews.nagariknetwork बाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार