तिम्ल्याहा शिशु भेन्टिलेटरमा

सर्लाही । सर्लाहीको मलंगवास्थित जिल्ला अस्पतालमा जन्मिएका तिम्ल्याहा शिशुलाई जोगाउन गाह्रो भएको छ । कौडेना गाउँपालिका–१ सुक्चैनाकी २५ वर्षीया बबिता राउतले गत शुक्रबार जिल्ला अस्पतालको प्रसूति गृहमा तिम्ल्याहा छोरालाई जन्म दिएकी हुन् ।

दुईको तौल १ किलो २५ ग्राम छ भने अर्को शिशु १ किलो ५ ग्रामको छ । अस्पतालका बालरोग चिकित्सक डा. गुणेश्वर झाका अनुसार सामान्य शिशुको तौल २ किलो ३ सय ग्रामभन्दा कम भए बचाउन निकै गाह्रो पर्छ । गर्भको आठौं महिना लाग्दा नै बेथाले च्यापेपछि राउतलाई परिवारले अस्पताल ल्याएका थिए ।
बेलै नभई जन्मिएको र तौल पनि निकै कम भएकाले हेल्थ केयर सेन्टरमा रिफर गर्नुपर्‍यो । त्यहाँ बच्चाहरूलाई अक्सिजन दिएर राखिएको छ,’ डा. झाले भने । ती शिशुलाई मलंगवाकै स्मृति सौम्या हेल्थ केयर सेन्टरमा भेन्टिलेटरमा राखिएको उनले बताए । आमाको अवस्था सामान्य छ । ‘तिम्ल्याहा दुर्लभ र जटिल केसहरूमै पर्छ । उमेर र तौल नपुगेका बच्चाहरू त्यसै पनि बचाउन गाह्रो हो,’ उनले भने ।

गर्भको ३७ सातामा सुत्केरीलाई बेथा लाग्नुपर्नेमा बबितालाई २९ औं सातामै अस्पताल भर्ना गर्दा नर्मल डेलिभरीबाट तिम्ल्याहा जन्मेको जिल्ला अस्पतालका डा.चन्दनराज शर्माले बताए । ‘समय नपुगेको र गर्भमा दुइटा बच्चा रहेको भनेर अस्पतालमा आउनुभएको थियो । तर बच्चा बाहिर आउने अवस्थामा पुगिसकेको थियो,’ उनले भने, ‘बच्चा निक्लेपछि मात्रै हामीले पनि तीनवटा रहेको थाहा पायौं ।’ जोखिमपूर्ण र दुर्लभ किसिमको प्रसूति जिल्ला अस्पतालका स्वास्थ्यकर्मीका लागि नौलो अनुभव भएको उनले बताए ।

एकैपटकमा तिम्ल्याहा छोरा जन्मिँदा खुसी भएका पिता पोषण राउत अब भने उनीहरू कसरी बाँच्लान् भनेर चिन्ता गरिरहेका छन् । ‘हामीले गर्भ जाँच गराउँदा बबिताको पेटमा दुइटा बच्चा छन् भन्ने थाहा भएको थियो, तर जन्मिँदा तीन निस्किए,’ उनले भने । पोषण र बबिताका तिम्ल्याहाअघि ५ र ३ वर्षका छोरा छन् । ती दुवै जन्मँदा भने बबितालाई अस्पताल लैजानु नपरेको पोषणले बताए । ekantipurबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार