![](https://myagdinews.com/wp-content/uploads/2020/10/DRM-Gausava-5.jpg)
उत्कृष्ट कर्मचारीलाई सम्मान
मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको बिशेष गाउँसभा बिहीबार मुनामा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा भएको सभामा उपाध्यक्ष रेशम छन्त्यालले प्रस्तुत गर्नुभएको गत आर्थिक वर्षमा खर्च हुन बाँकी बजेट बाँडफाड गर्ने प्रस्ताव पारित भएको छ ।
![](https://myagdinews.com/wp-content/uploads/2020/10/Jhak-chantyal.jpg)
३४ वटा योजना तथा कार्यक्रमका लागि तीन करोड ४९ लाख हजार रुपैयाँ बजेट बिनियोजन गरेको कार्यपालिकाका प्रवक्ता झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । गत असार २५ र २६ गतेको पहिरोका कारण ठूलो जनधनको क्षति ब्यहोरोको वडा न. ६ मराङ र वडा न. ७ ताकमका योजनालाई बजेट बिनियोजनमा प्राथमिकता दिएको छ ।
![](https://myagdinews.com/wp-content/uploads/2020/10/Deau-prashad-chantyal.jpg)
गत असारमा भएको आठौ गाउँसभामा विकास आयोजना तथा कार्यक्रमका लागि पुजिँगत शिर्षकमा १२ करोड ६५ लाख ५२ हजार ५८० रुपैयाँको बजेट पारित भएको थियो । बिशेष गाउँसभाले पारित गरेको बजेट, योजना तथा कार्यक्रममा समावेश गरेर कार्यान्वयन गरिने प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले बताउनुभयो ।
![](https://myagdinews.com/wp-content/uploads/2020/10/DRM-Gausava-4.jpg)
पहिरो पिडितको आवास पुननिर्माणका लागि ४९ लाख ७३ हजार रुपैयाँ बिनियोजन गरेको गाउँसभाले प्रकोप ब्यवस्थापन कोषमा पचास लाख रुपैयाँ छुट्टाएको छ । स्वदेश तथा बिदेशमा रहेकाहरुले ४२ लाख रुपैयाँ जम्मा गरेको प्रकोप ब्यवस्थापन कोषमा पालिकाका जनप्रतिनिधि र कर्मचारीहरुबाट आठ लाख रुपैयाँ जम्मा भएको अध्यक्ष पुनले गाउँसभामा जानकारी गराउनुभएको थियो ।
“हाम्रा भौतिक संरचना पुननिर्माणका लागि मात्र कम्तिमा २६ करोड बजेट आवश्यक पर्ने प्रारम्भिक अनुमान छ,” अध्यक्ष पुनले भन्नुभयो “गाउँपालिकाले सुरुवात गरेको छ । पहिरो पिडितको पुनस्थापना, क्षतिग्रस्त भौतिक संरचनाको पुननिर्माणमा प्रदेश र संघ सरकारबाट पनि बजेट आउने अपेक्षाका साथ पहल गरिरहेका छौ ।”
![](https://myagdinews.com/wp-content/uploads/2020/10/DRM-Gausava-3.jpg)
मराङको रिख, राम्चे, कल्लेनी, ठूलोगाउँ र कुम्रीमा १९ जनाको मृत्यु तथा दुई जना बेपत्ता भएका थिए । धवलागिरीको वडा न. ६ मा २४, वडा न. ७ मा ४२ र ५ मा ४ घर पूर्ण रुपमा क्षति भएको छ । बिस्थापित भएकाहरुलाई एकिकृत बस्ति बनाएर पुनस्थापना गर्न भूगर्भबिद्को टोलीबाट अध्ययन तथा डिपिआर बनाउने समेत निर्णय गरेको कार्यपालिकाका प्रबत्ता छन्त्यालले बताउनुभयो । गत आर्थिक वर्ष २०७६÷०७७ को खर्च अनुमोदन सम्बन्धी प्रस्ताव भने सदस्यहरुले अध्ययनका लागि समय मागेपछि पारित हुन सकेन् ।
पहिरो प्रभावित बिम–मराङ–मल्कवाङ सडक मर्मतका लागि १५ लाख, युवा स्वरोजगारलाई तीस लाख, पदाधीकारी सुबिधाका लागि ४१ लाख, मुना–मुदी र मुना–लुलाङ सडक मर्मतका लागि १५ लाख, शिवाङ आवासीय बिद्यालय होस्टेल कर्मचारी पारिश्रमिक र ब्यवस्थापनका लागि दश लाख, हेम नमुना आवासीय माविको भवन (क्रमागत)लाई ११ लाख ७० हजार, लुलाङ वडा कार्यालय भवन क्रमागतलाई चार लाख, मुना स्वास्थ्य चौकी भवन पछाडी ग्यावीयन जाली लगाउन पाँच लाख, जनता आवास कार्यक्रमलाई २५ लाख रुपैयाँ बिनियोजन भएको छ । आवधिक योजना निर्माण गर्न दश लाख र मध्यकालिन खर्च संरचना बनाउन पाँच लाख बिनियोजन भएको छ ।
गाउँसभाको अवसरमा गत आर्थिक वर्ष २०७६÷०७७ को योजना तथा कार्यक्रम कार्यान्वयनमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्राबिधिक, कर्मचारी र कार्यालय सहयोगीहरुलाई प्रशंसापत्रद्धारा सम्मान गरिएको थियो । लेखा अधिकृत कृष्णप्रसाद खराल, इञ्जिनियर सोबिन जिसी, खरिदार रमेश पौडेल, सब इञ्जिनियर दिपेन्द्र थापा, जनक धानुक, वडा सचिव गिरीराज शर्मा, बेदनाथ सुवेदी, सेवानिवृत्त वडा सचिव यामबहादुर घर्तिमगर र कार्यालय सहयोगी कुलबहादुर पुनलाई अध्यक्ष पुन र उपाध्यक्ष छन्त्यालले सम्मान गर्नुभएको थियो ।
गाउँसभालाई सम्बोधन गर्नुहुदै अध्यक्ष पुनले कोरोना रोकथाम, पहिरो पिडितलाई सुरक्षित बसोबास ब्यवस्थापनसँगै नियमित सेवा प्रवाह र विकास निर्माणका कामलाई अघि बढाउने दायित्व पुरा गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । गाउँसभाका सदस्यहरु झक छन्त्याल, देउप्रसाद छन्त्याल, पुर्म पुन, खर्ककुमारी छन्त्याल, राजाराज सुवेदी, तिलकुमारी केसी लगायतले छलफलमा भाग लिनुभएको थियो ।
गाउँसभा लगत्तै बसेको कार्यपालिका बैठकले चाडपर्वको समयमा कोरोना भाइरसको महामारी फैलन सक्ने सम्भावित जोखिम न्युनीकरणका लागि अति आवश्यक बाहेकका काममा अनुमति बिना गाउँपालिका भित्र्न, एक बस्ति देखि अर्को बस्ति आवत जावत गर्न रोक लगाएको छ । वडाका अध्यक्ष लगायत जनप्रतिनिधिसँग समन्वय गरेर मात्र आवत जावत गर्न दिने निर्णय गरेको छ ।
पोखरामा उपचार गराउन गएका धारापानीका एक बृद्धलाई कोरोना संक्रमण पुष्टि भएकाले सतकर्ता अपनाउन पालिकाबासीहरुलाई आग्रह गरेको छ ।