
काठमाडौं । भक्तपुरमा मोटरसाइकल चोरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले चोरी गरिएका चार वटा मोटरसाइकलसहित तीन जनालाई सोमबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रामेछाप घर भई मध्यपुर ठिमी नगरपालिका-८ बोडे बस्ने १८ वर्षीय अरूण तामाङ, दोलखा घर भई बोडे बस्ने २२ वर्षीय महेश तामाङ र सिन्धुपाल्चोक घर भई कागेश्वरी नगरपालिका-९ मुलपानी बस्ने २९ वर्षीय मनोज लामा छन्।उनीहरूबाट बरामद गरिएका मोटरसाइकलमध्ये लु६३प ७०७४ नम्बरको मोटरसाइकल परिवर्तन गरी प्रदेश ३-०२-०१७ प ६१६७ नम्बर राखेका थिए। त्यस्तै, प्रदेश ३-०३-०१०प १५६७, प्रदेश ३-०२-०१८प ४७४१, प्रदेश ३-०२-००३प ३८३५ नम्बरको मोटरसाइकल बरामद गरेको छ।
यस अपरेसनलाई प्रहरीले अपरेसन रिचार्ज कार्डुको नाम दिएको थियो।महानगरीय प्रहरी वृत्त, ठिमीले सोमबार बिहान ९ बजे मध्यपुर ठिमी नगरपालिका-३ कौशलटारबाट मोटरसाइकल हराएको भन्ने सूचना पाएको थियो। रोहन पराजुलीको घर अगाडि पार्किङ गरी राखेको लु६३प ७०७४ नम्बरको मोटरसाइकल हराएको थियो। सो सूचना पाएपछि वृत्त र अपराध महाशाखाको पिसिसिबीको संयुक्त टोली खटिएको थियो। मोटरसाइकल हराउनु केही समय अघि एक जना व्यक्तिले किराना पसलबाट रिचार्ज गरेको कुरा खुलेको वृत्तका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए।
प्रहरीले घटनास्थलबाट ती व्यक्तिले रिचार्ज गरेको कार्डसमेत फेला पारेको थियो। त्यसैलाई आधार मानेर अनुसन्धान अघि बढाएकोले यस अपरेसनको नाम अपरेसन रिचार्ज कार्ड दिइएको डिएसपी कँडेलले बताए।उनका अनुसार प्रहरीले सो रिचार्ज गरेको मोबाइलको फोन नम्बर पत्ता लगाएको थियो। अनुसन्धानकै क्रममा सोमबार साढे तीन बजे पुनस् मगरगाँउबाट अर्को मोटरसाइकल चोरी भएको थियो। साजन न्यौपानेको घर अगाडि पार्किङ गरी राखेको प्रदेश ३-०२-००३प ३८३५ नम्बरको मोटरसाइकल चोरी भएको थियो।
त्यसपछि प्रहरीले दुबै घटनाको अनुसन्धान अघि बढाएको थियो। पछि सोमबार नै प्रहरीले बोडे पेट्रोल पम्प नजिकैको गार्मेन्ट अगाडिको सडकबाट लु६३प ७०७४ नम्बरको मोटरसाइकल नम्बर परिवर्तन गरेको अवस्थामा फेला पारेको थियो।त्यहाँबाट प्रहरीले मोटरसाइकल चोर्ने व्यक्तिलाई निगरानी गरिरहेको डिएसपी कँडेलले बताए। साढे चार बजेको समयमा सोही ठाँउबाट प्रहरीले प्रदेश ३-०३-०१०प १५६७ नम्बरको मोटरसाइकलसहित अरुण तामाङ पक्राउ परे।
उनलाई त्यहाँ मोटरसाइकल पार्किङ गरी भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो। उनीसँग सोधपुछ गरी प्रहरीले महेश तामाङलाई कोठाबाट पक्राउ गरेको थियो भने रिचार्ज कार्ड बेच्ने व्यक्तिबाट सनाखतसमेत गराएको डिएसपी कँडेलले जानकारी दिए।उनीहरूमाथि सोधपुछ तथा अनुसन्धान गरी प्रहरीले मनोज लामालाई पक्राउ गरेको हो। उनीबाट प्रदेश ३-०२-०१८ प ४७४१ नम्बरको मोटरसाइकल बरामद गरेको थियो। यसमा अरूको पनि संलग्नता भए-नभएकोबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। सेतोपाटीबाट साभार