खहरेखोलामाथि पक्की पुल निर्माण सुरु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानको खहरेखोलामाथि पक्की पुल निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय पूर्वाधार विकास कार्यालय कास्कीको रु पाँच करोड ९८ लाख ३० हजार ६ सय ८२ लागतमा रिभानको खहरेखोलामाथि पक्की पुल निर्माण सुरु भएको हो ।

तीन वर्षअघि पहिराले खहरेखोलामा कजवे बगाउँदा वर्खायाममा सडक सम्पर्कबाट बिच्छेद माछापुच्छ्रे गाउँपालिका–५ रिभानका स्थानीयवासी पुल बन्ने भएपछि उत्साहित भएका छन् । विसं २०७४ साउन २४ राति पहिरोले खहरेखोलामा पुलसहित त्यस क्षेत्रका केही घर बगाएपछि स्थानीयवासी यातायात सम्पर्कबाट टाढा भएका थिए ।

हिउँदयाममा खोलाबाटै सवारीसाधन सञ्चालन भएपनि बर्खामा नदी बढ्दा यातायात सम्पर्कबाट विमुख रहनुपर्ने बाध्यता रहँदै आएकामा गण्डकी प्रदेश सरकारले पक्की पुल निर्माण सुरु गरेपछि स्थानीयवासी उत्साहित भएको वडाध्यक्ष जुमबहादुर गुरुङले बताए । उनले भने, “वर्खायाममा हाम्रो पूरै वडासहित वडा नम्बर ९ का बासिन्दा समेत सास्ती पाउँदै आएका थियौँ । बालबालिका विद्यालय जान÷आउन र बिरामीलाई समेत अस्पताल लैजान नसक्दा सबै चिन्तित थियौँ । पक्की मोटर हिँडने पुल बन्न सुरु भएपछि अब दुःखका दिन गए जस्तो लागेको छ । ”

पुल निर्माण भएपछि वडा नम्बर ५ को रिभानसहित छिमेकी वडाका कुईबाङ, मोहरा, तर्को, सैँतीघट्ट, सिदिङसम्मका पाँच हजार जनसङ्ख्या यसबाट लाभान्वित हुने बताइएको छ । उक्त पुलको भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले मंगलबार शिलान्यास गर्दै पुल, सडक, खानेपानी तथा सिँचाईका माध्यमबाट प्रदेश सरकार जनताको घरघरमा पुगेको बताए । उनले भने, “जनतालाई आधारभूत सेवा सुविधा उपलव्ध गराउन प्रदेश सरकार लागिपरेको छ । हजारौँको बलिदान र क्रान्तिले ल्याएको गणतन्त्र र संघीयता र त्यसैका आधारमा बनेको सरकार जनताको पीरमर्का र बुझेर काम गर्छ ।”

मन्त्री बस्नेतले प्रदेश सरकारले यसै वर्ष यो प्रदेशलाई उज्यालो प्रदेश घोषणा गरिने र काठे पोल विस्थापन गरी फलाम र स्टील पोल राखिने पनि बताए । प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले प्रदेश सरकार गठन भएपछि ग्रामीण भेगमा समेत विकासका पूर्वाधार निर्माणले तीव्रता पाएको बताउँदै माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २ र ३ जोड्ने गरी सेती नदीमा पुल नहुँदा स्थानीयवासीलाई आफ्नै गाउँपालिकामा आउन समेत पोखरा पुगेर आउनुपर्ने बाध्यता रहेकाले यसैवर्षमा पुल निर्माण गर्नका लागि सरकारको ध्यानाकर्षण गराए ।

गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले पुल समयमै सम्पन्न गर्नका लागि पालिकाकोतर्फबाट आवश्यक सहयोग र सहजीकरण गरिने बताए । विसं २०७८ असोज ६ गतेसम्म सो पुलको निर्माण सम्पन्न गर्ने गरी इन्द्रेणी निर्माण सेवासँग ठेक्का सम्झौता गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख डिभिजनल इञ्जिनीयर दिनेश घिमिरेले जानकारी दिए । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार