आठ जना कर्मचारी संक्रमित भएपछि त्रियुगा नगरपालिका बन्द

उदयपुर । एकै दिन आधा दर्जन बढी कर्मचारीमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि सदरमुकामको त्रियुगा नगरपालिका बन्द भएको छ । अघिल्लो दिन आएको पीसीआर रिपोर्टमा ३ महिलासहित ८ कर्मचारीमा संक्रमण देखिएपछि उच्च जोखिम भएको भन्दै नगरपालिकाले बिहीबारदेखि कामकाज रोकेको हो।

बिहीबार विहान एक सूचना प्रकाशित गर्दै नगरपालिकामा एकैदिन ८ कर्मचारी र त्यसअघि दुईजनामा संक्रमण पुष्टि भएकाले कोभिड–१९ को जोखिमबाट जोगिन एक साताका लागि सम्पूर्ण कामकाज रोक्नु परेको उल्लेख गरिएको छ। आउँदो २८ गतेसम्म कामकाज रोकिएको सूचना जारी गरेपछि तिहारअघि कार्यालय नखुल्ने भएको छ। २८ गते शुक्रबारसम्म औपचारिक बिदा दिइएको र त्यसको भोलिपल्ट शनिबार र लगत्तै तिहारको सार्वजनिक बिदा हुने हुँदा तिहारपछि मात्र कार्यालय खुल्ने प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणविक्रम थापाले बताए।

अधिकृत थापाका अनुसार यसअघि पनि नगरपालिकाका २ कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो। केही दिनअघि एक इन्जिनियरमा संक्रमण देखिएको थियो भने महिनादिनअघि मेयर बलदेव चौधरीका चालकमा संक्रमण पुष्टि भएको थियो। चालक दुर्गा गिरी उपचारपछि डिस्चार्ज भईसकेका छन् भने इन्जिनियर घरमै आइसोलेशनमा बसेका छन्।

नगरपालिकाका सामाजिक शाखा अधिकृत विश्वजीत राईका अनुसार केहीदिनअघि इन्जिनियरको ‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेका नगरपालिकाका ७५ कर्मचारीसहित १ सयजनाको स्वाब नगरपालिकाले संकलन गरी परीक्षण गर्न पठाएको थियो। जसमा दुईजना कर्मचारी र जनप्रतिनिधिका परिवारका सदस्यमा पनि संक्रमण देखिएको राईले बताए।

यसरी एकैचोटी धेरै जनामा संक्रमण पाइएपछि नगरपालिकाको कामकाज रोक्नु परेको उनले बताए। कर्मचारीमा भटाभट संक्रमण देखिन थालेपछि मेयर बलदेव चौधरी र उपमेयर देवीकुमारी चौधरी पनि आईसोलेसनमा बस्न थालेका छन्। संक्रमितहरुमा सामान्य रुघाखोकीबाहेक अन्य लक्षण नदेखिए पनि सुरक्षा सतर्कता अपनाउन आईसोलेसनमा बस्न थालेको मेयर चौधरीले बताए। नगरपालिकाका १६ वटै वडाध्यक्षलगायत जनप्रतिनिधिहरुलाई पनि होम आईसोलेसनमा बस्न आग्रह गरेको मेयर चौधरीले बताए। nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार