अहिलेसम्म काठमाडौं उपत्यकामा ९३,७७५ जनामा कोरोना संक्रमण, ४२५ जनाको मृत्यु

काठमाडौं । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको रफ्तार काठमाडौं उपत्यकामा थप बढिरहेको छ । उपत्यकामा संक्रमणसँगै मृत्युको रफ्तार पनि बढिरहेको छ ।

काठमाडौं उपत्यका देशको केन्द्र भएको र यहाँ सबै ठाउँका मानिसहरु आउने भएका कारण पनि संक्रमण र मृत्युको दर बढिरहेको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । देशभर १ लाख ९९ हजार ७ सय ६० जना संक्रमित हुँदा काठमाडौं उपत्यकामा मात्र अहिलेसम्म ९३ हजार ७ सय ७५ जना कोरोना संक्रमित भएका छन् । यो संख्या देशभर संक्रमितको करिब आधा हो ।

संक्रमितमध्ये काठमाडौं जिल्लामा मात्रै ७४ हजार ३ सय ४४, भक्तपुरमा ८ हजार ८ सय ८४ र ललितपुरमा १० हजार ५ सय ४७ जना रहेका छन् । त्यस्तै उपत्यकामा मृत्यु हुनेको संख्या पनि उत्तिकै रहेको छ । देशभर १ हजार १ सय ४८ जनाको मृत्यु हुँदा उपत्यकामा मात्र ४ सय २५ जनाको मृत्यु भएको छ ।

उपत्यकामा कोरोनाबाट मृत्यु हुनेको संख्या देशभर मृत्यु हुनेको एक तिहाइभन्दा बढी रहेको छ । जसमा काठमाडौंमा मात्र २ सय ८० जनाले ज्यान गुमाएका छन् । भक्तपुरमा ७३ र ललितपुरमा ७२ जनाको निधन भएको छ । यसैबीच उपत्यकामा रहेका कोरोना संक्रमितहरु सम्पर्कमा नआउने समस्या देखिन थालेको छ । सक्रिय संक्रमितहरु सरकारको सम्पर्कभन्दा बाहिर रहेर खुल्लम खुल्ला हिँड्दा अरुलाई पनि सर्ने गरेको छ । संक्रमितहरु सम्पर्कमा नआउने कारण अहिले कोरोना समुदायस्तरमा फैलिएको छ ।

काठमाडौं उपत्यकामा अहिले २० हजार ६ सय ६० जना सक्रिय कोरोना संक्रमित रहेका छन् । देशभर अहिले ३८ हजार ३५ जना सक्रिय संक्रमित रहेका छन् । उपत्यकामा मात्र आधाभन्दा बढी संक्रमित रहेका छन् । तर, उपत्यकामा रहेका सक्रिय संक्रमित आधाभन्दा बढी सम्पर्कविहीन रहेका जिल्ला श्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

उपत्यकामा अहिलेसम्म ७० हजार ८ सय ९० जनाले कोरोना जितिसकेका छन् । जसमा ५७ हजार ३ सय ७८ जना काठमाडौंका रहेका छन् । त्यस्तै भक्तपुरको ५ हजार ३ सय ८७ र ललितपुरको ८ हजार १ सय २५ जना रहेका छन् । काठमाडौं उपत्यकामा अहिले काठमाडौंका ११ हजार ३ सय ९३, भक्तपुरका १ हजार ८ सय १४ र ललितपुरका १ हजार ८ सय ३१ जनाले होम आइसोलेसनमा रहेर उपचार गराइरहेका छन् । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार