तीन दशकदेखि साङ्लोले बाँधेर राखिएको पुरुषको उद्धार

लमजुङ । तीन दशकदेखि साङ्लोले बाँधेर बन्धक बनाइएका गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिका–९ हिलेटक्सार माझगाउँका मानसिक सन्तुलन गुमेका ४९ वर्षीय इमानसिंह गुरुङको उद्धार गरिएको छ ।

तीन दशकदेखि साङ्लोले बाँधेर बन्धक’ समाचारपश्चात मानवसेवा आश्रम लमजुङले बिहीबार उक्त स्थानमा पुगी उनको उद्धार गरेको हो । सोही वडाका वडाध्यक्ष खेमबहादुर गुरुङ, स्थानीयवासी र परिवारको रोहवरमा आश्रमका संयोजक अनिता अधिकारी, प्रहरी, सञ्चारकर्मीलगायत त्यहाँ पुगेका टोलीले उद्धार गरेको हो ।

आश्रमका संयोजक अधिकारीले भने, ‘राससमा जिल्ला प्रतिनिधि जनक श्रेष्ठले उहाँका बारेमा लेख्नुभएको समाचार पढ्यौँ, थाहा पायौँ अनि आश्रमले उद्धार गर्नुपर्छ भन्ने लागेर उद्धार गरेका हौँ ।’ बेवारिसे सडक मानव उद्धार गर्ने गरे पनि बेलाबखत यस्ता दयनीय अवस्थामा रहेका व्यक्तिको समेत उद्धार गर्ने गरेको उनको भनाइ छ ।

उनको जीवन परिवर्तन गर्नका लागि आश्रममा ल्याइएको र मान्छे भएर मान्छेकै भेषमा पशुतुल्य जीवन बिताउँदै आएका कारणले आश्रमले उद्धार गरेको जनाइएको छ ।

मानसिक सन्तुलन गुमेका गुरुङका ठूलो दाई बेनीराम गुरुङले भाइको बारेमा समाचार प्रकाशित गरेकामा रासस टिम र उद्धार गरेकामा आश्रमलाई धन्यवाद दिए । उनले भने, ‘हामीलाई धेरै दुःख थियो, कताबाट सहयोग होला र भाइको उद्धार तथा उपचार होला भन्दै बसेका थियौँ तर अहिले उद्धार भएकाले भगवान्ले आशीर्वाद दिएजस्तो लागेको छ ।’

गुरुङको १८ वर्षको उमेरमा मानसिक सन्तुलन गुमेयता परिवारले घरकै कोठामा फलामको साङ्लोले बाँधेर कोठामै बन्धक बनाउँदै आएको थियो । गुरुङलाई यतिकै छोड्दा जता पायो त्यतै जाने, जो भेट्यो उसलाई हिर्काउने, पिट्ने तथा घरका सामान फाल्ने, घर भत्काउनेलगायतका क्रियाकलाप गर्ने गरेको परिवारले जनाएको छ ।

गुरुङका बुबाआमाको मृत्यु भएपछि ठूलो दाइ बेनीराम र भाउजुु दबलकुमारी गुरुङले हेरचाह गर्दै आएका थिए । कष्टकर जीवन बिताउँदै आएका गुरुङको आश्रमले उद्धार गरेपछि परिवारसमेत खुशी भएको छ ।

बेँसीशहर नगरपालिका–७ हाइस्कूलचोकमा विसं २०७३ चैत १२ गते एक स्थानीयवासीको घर भाडामा लिएर आश्रम सञ्चालन हुँदै आएको छ । हाल आश्रममा उद्धार गरिएका गुरुङसहित २५ जना छन् । यस आश्रमले आगामी पुस महिनाभित्रमा जिल्लालाई बेवारिसे सडक मानवमुक्त बनाउने लक्ष्य राखेको छ ।रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार