तालखर्कबाट थुम्काथुम्का परेको डाँडामा सिँढी निर्माण गरियो

पाँचथर । फालेलुङ गाउँपालिका–६ तालखर्कबाट थुम्काथुम्का परेको डाँडातर्फ जङ्गलै–जङ्गल सिँढी बनाइएको छ । हरियो झारले बेरिएका रुखको सुन्दरताभित्र झण्डै एक हजार ७०० मिटर लामो सिँढीमार्गले यो ठाउँ निकै आकर्षक देखिन्छ ।

ढलान नगरिएको सिँढीमार्गमा आकर्षक ढङ्गले ढुङ्गा बिच्छ्याइएको छ । सिँढी टुङ्गिएपछि गोरेटो बाटो हुँदै डाँडाको शिरमा पुगिन्छ । सो सिँढीमार्गको पल्लोपट्टी फिदिम नगरपालिकातर्फ बाघखोर भञ्ज्याङबाट पनि ढलानसहितको सिँढी निर्माण थालिएको छ । शिरमा समथर परेको स्थानमा दृश्यावलोकन स्तम्भ निर्माण भइरहेको छ । सो स्तम्भको एक तला ढलान भइसकेको छ ।

यस्तै फिदिम नगरपालिका वडा नं १२ र १३ तथा फालेलुङ गाउँपालिका वडा नं ६ को सिमानामा पर्ने बूढीथाम मन्दिर संरक्षणको अभावमा जीर्ण बनेको छ । सरकारी निकायले मन्दिर लक्षित सहायक संरचना निर्माणमा लाखौँ रुपैयाँ लगानी गरिसकेका छन् । सिमानामा परेका कारण जीर्णोद्धार र संरक्षण नहुँदा धार्मिक महत्व बोकेको बूढीथाम पहिचान मेटिने अवस्थामा पुगेको हो । जीर्णोद्धार र संरक्षण गर्ने विषयमा दुई स्थानीय तहबीच प्रभावकारी समन्वय नहुँदा यस्तो अवस्थामा पुगेको स्थानीयवासी बताउँछन् ।

विगतमा यहाँ धार्मिक अनुष्ठान हुँदै आएकामा पछिल्लो समय त्यस्ता गतिविधि नभएपछि यो स्थानको धार्मिक, ऐतिहासिक तथा पुरातात्विक पहिचान मेटिने अवस्था आएको हो । विसं २०७२ को भूकम्पले भत्किएको मन्दिरको संरचना त्यसपछि संरक्षण र जीर्णोद्वार नहुँदा लथालिङ्ग अवस्थामा पुगेको फालेलुङ गाउँ कार्यपालिकाका सदस्य पनिता राईको भनाइ छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार