पीडितलाई पाँच लाख रुपैयाँ दिएर बलात्कारमा मिलापत्र गराउने ६ जना पक्राउ

काठमाडौं । जबरजस्ती करणी मुद्दा पाँच लाख रुपैयाँमा मिलापत्र गराएको आरोपमा मोरङमा ६ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मोरङ धनपालथान गाउँपालिका-५ का धनेशु खवास, सुधारसिंह खवास, मागन खवास, कलकनु खवास, रंगेली नगरपालिका वडा नं. १ का जगतनारायण खवास र बेलबारी नगरपालिका वडा नं.८ का ५३ को मथालु खवास छन्।

उनीहरूलाई प्रहरीले बिहीबार आफ्नै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। भदौ २४ गते मोरङ धनपालथान गाउँपालिका-५ स्थित खेतमा मल छर्ने क्रममा बेलबारी नगरपालिका-८ का ३२ वर्षीय सुरेश खवासले २१ वर्षीय युवतीलाई बलात्कार गरेका थिए।

त्यसको एक महिनापछि इलाका प्रहरी कार्यालय रंगेलीमा जाहेरी परेको थियो । जाहेरी परे पनि खवास फरार थिए। उनी फरार रहेकै अवस्थामा गाउँमा मिलापत्र गराइएको बुझिएको छ।

इलाका प्रहरी कार्यालय रंगेलीले मंसिर १९ गते रंगेली नगरपालिका वडा नं.७ बाट खवासलाई पक्राउ गरेको थियो। पक्राउ गरी अनुसन्धान गर्दा उक्त घटना गाउँघरमै पीडित पक्षलाई पाँच लाख दिई मिलापत्र गराइएको खुलेको प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए।

‘मिलापत्रको कागजसमेत बरामद भएको छ,’ खड्काले भने ‘मिलापत्र गराउने व्यक्तिहरूलाई हिरासतमा लिई अनुसन्धान थालिएको छ, उनीहरूले गरेको कसुरअनुसार कारबाही हुन्छ।’ सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार