वीर अस्पतालमा कोभिडसँगै ‘नन्–कोभिड’ बिरामीको पनि उपचार सुरु

काठमाडौं । वीर अस्पतालले कोभिडसँगै ‘नन्–कोभिड’ बिरामीको पनि उपचार सुरु गरेको छ । बुधबारदेखि उक्त अस्पतालमा कोभिडसँगै ‘नन्–कोभिड’ का बिरामीहरुका लागि सामान्यदेखि विशेषज्ञ सेवा सुरु गरेको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बताए ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि वीर अस्पताललाई कोभिड उपचार केन्द्रका रुपमा प्रयोग गरिएको थियो । त्यसो त, विगतमा वीर अस्पतालमा कोभिड र ट्रमा सेन्टरको भवनमा नन्–कोभिडका बिरामीको उपचार गर्ने भनिए पनि मानसिक त्रासका कारण नन्–कोभिडका बिरामीहरु नआएको अस्पताल स्रोत बताउँछ ।

कोभिडका बिरामीको उपचार गर्न थालेपछि अस्पतालको आय स्रोत नै कम भएको भन्दै अस्पतालले स्वास्थ्यकर्मीलाई तलबसँगै जोखिम भत्ता समेत उपलब्ध गराउन सकेको थिएन । निर्देशक डा.सेन्चुरीका अनुसार कोभिड–१९ का बिरामीलाई सम्पूर्ण उपचारको व्यवस्था गर्नुका साथै अन्य ‘नन्–कोभिड’का बिरामीलाई समेत सम्पूर्ण सामान्य तथा विशेषज्ञ सेवाहरु विगतमा झैं प्रदान गर्न थालिएको छ । वीर अस्पतालबाट सबै बिरामीले आवश्यक सेवा लिन सक्ने उनले जानकारी दिए ।

अस्पताल प्रशासनका अनुसार स्वास्थ्यकर्मीलाई आवश्यक सम्पूर्ण सुरक्षा सामग्रीसहित बिरामीको उपचारमा परिचालन गर्न थालिएको छ । सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गरी कोभिड र नन्–कोभिड बिरामीको उपचार थालिएको अस्पताल प्रशासनको भनाइ छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार