चितवनमा इजाजत नभएका ३१ लाख बराबरका औषधिसहित ८ जना पक्राउ

काठमाडौं । चितवनमा इजाजत नभएका ३१ लाख बराबरका औषधिसहित ८ जना पक्राउ परेका छन्। मंगलबार माडी नगरपालिका-९ स्थित सोमेश्वरबाट इजाजत नभएका ३१ लाख ५ हजार ६ सय ३३ रुपैयाँ बराबरका औषधि ओसारपसार गर्ने आठ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कालिका नगरपालिका २८ वर्षीय राजकुमार महतो, ३१ वर्षीय हरिशरण चौधरी, २३ वर्षीय प्रकाश दाहाल छन्। त्यस्तै, माडी बघौडाका २२ वर्षीय बालकृष्ण महत्तो, २२ वर्षीय मिलन महतो, मकवानपुरका २५ वर्षीय सुरज गौतम, २५ वर्षीय उज्वल पोखरेल र २३ वर्षीय विपिन सापकोटा छन्।

ठोरीबाट माडीतर्फ जाँदै गरेको ना ४ ख ४४२५ नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले जाँच गरेको थियो। त्यसक्रममा राजकुमार महतोले बसको डिकीमा बोरामा विभिन्न किसिमका औषधि राखेको प्रहरीले फेला पारेको थियो।

प्रहरीले थप अनुसन्धानको क्रममा बालकृष्ण र मिलनको घरबाट पनि औषधि फेला पारेको थियो। उनीहरूलाई प्रहरीले औषधि ओसारपसारमा संलग्न रहेको भन्दै पक्राउ गरेको हो।

साथै माडी नगरपालिका-९ बगही खोलाको किनारको झाडीबाट बुधबार बिहान करिब ९ लाख ९५ हजार १ सय रुपैयाँ बराबरका औषधिहरू पनि फेला पारेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई औषधिसहित थप अनुसन्धान तथा कारबाही गर्न औषधि व्यवस्था विभागमा पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार