प्रहरीको कपडा खरिदमा ठगी गरेको आरोपमा दुईजना ठेकेदार पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लत्ताकपडा खरिदमा ठगी गरेको आरोपमा दुई ठेकेदार पीताम्बरकुमार मुन्का र नरेन्द्रनाथ पौडेल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले वीरगन्जमा कार्यालय रहेको क्राउन टेक्सटाइल्स इन्डस्ट्रिज प्रालिका सञ्चालक मुन्का र प्रतिनिधि पौडेललाई पक्राउ गरेको हो । मुन्का वीरगन्ज र पौडेल काठमाडौंबाट पक्राउ परेका हुन् ।

मुन्का सेना र सशस्त्र प्रहरीका लत्ताकपडाको समेत आपूर्तिकर्ता हुन् । उनीमाथि यसअघि पनि ‘सेटिङ’ मा कमसल सामान खरिद गरेको आरोप लाग्ने गरेको थियो । २०७३/७४ मा उलन पाइन्टका लागि मुन्काको कम्पनी क्राउन टेक्सटाइल्सले प्रतिमिटर १ हजार ८ सय २ रुपैयाँका दरले २० हजार मिटर कपडा खरिदबापत २ करोड १६ लाख ४० हजार रुपैयाँ बराबरको ठेक्का पाएको थियो ।

उनले खरिद गरेको कपडा र नमुनाबीच अन्तर देखिएपछि पुनः परीक्षणका लागि प्रहरीले दुवै कपडाको नमुना भारत पठायो । सोबारे सूचना पाएपछि मुन्का र पौडेलले सेटिङमा आफ्नो नमुना पनि भारत पठाएका थिए । प्रहरीले पठाएकोभन्दा अगावै ‘नमुनाअनुसारकै सामान भएको’ उल्लेखित ठेकेदारले पठाएको प्रयोगशाला रिपोर्ट प्रहरी प्रधान कार्यालय आइपुग्यो । आधिकारिक रिपोर्टको सट्टा ठेकेदारको अघि आएपछि प्रहरी झस्कियो । केहीपछि नमुनाअनुसारको सामान नभएको आधिकारिक रिपोर्ट आयो । सम्झौताविपरीत कमसल कपडा खरिद गरेको भेटिएपछि प्रहरी प्रधान कार्यालयले सामान अस्वीकार गरेको थियो । आफूले ल्याएको सामान अस्वीकृत भएपछि मुन्का र पौडेलले शक्ति केन्द्रसम्मै हारगुहार गरेका थिए । सुनुवाइ नभएपछि मुन्का प्रहरीविरुद्ध उच्च अदालत पाटन गए । पाटनबाट मुन्काकै पक्षमा फैसला आयो । त्यसविरुद्ध प्रहरी प्रधान कार्यालय सर्वोच्च अदालत पुग्यो । तर सर्वोच्चले उच्चको फैसला उल्ट्याएर प्रहरीको पक्षमा फैसला गर्‍यो ।

त्यसपछि मुन्का र पौडेल किर्ते गरेर भए पनि अस्वीकृत लत्ताकपडा भिडाउन सक्रिय भए । खरिद सम्झौताको करिब ४ वर्षपछि अस्वीकृत लत्ताकपडा बुझाउने योजनासहित दुवैले किर्ते कागजात तयार पार्ने योजना बनाए । जसअनुसार २०७७ साउन ३२ मा कम्पनीका प्रतिनिधि पौडेलले प्रहरी प्रधान कार्यालय प्रबन्ध निर्देशनालयका तर्फबाट अधिकृतको नाम, मोबाइल नम्बर, इमेल ठेगाना, छाप र दस्तखत किर्ते गरी भारतको चेन्नईस्थित प्रयोगशाला एसजीएसलाई गुणस्तर प्रमाणीकरण गर्न डीएचएलमार्फत दोस्रो नमुना पठाएका थिए । प्रहरी प्रधान कार्यालयले त्यसबारे सुइँको पाएपछि प्रयोगशालाबाट समेत कागजात झिकाएर सीआईबीले अनुसन्धान सुरु गरेको थियो ।

‘चेन्नईस्थित ल्याबसँग सेटिङ गरेर गुणस्तरमा फेल भएका सामान पास गर्न जिम्मेवार प्रहरी अधिकृतकै नाम, हस्ताक्षर, छाप तथा दस्तखत किर्ते गरी ठगीमा संलग्न भएको देखियो,’ सीआईबीका डीआईजी सहकुल थापाले भने, ‘हामीले पछिल्लो ४ महिनादेखि अनुसन्धान गरिरहेका थियौं, त्यही क्रममा ठेकेदार र कम्पनीका प्रतिनिधिलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो ।’ अस्वीकृत लत्ताकपडा बुझाउन बारम्बार प्रयास गर्दा पनि सम्भव नभएपछि मुन्का र उनका सहयोगीले ठगीको योजनाअनुसार भारतको प्रयोगशालासम्मै सेटिङ मिलाएको थापाले बताए । दुवै जनामाथि मुलुकी अपराध संहिता २०७४ को ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । ekantipur बाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार