गाउँसभाको बहुमतबाट बेगमा अस्पताल बनाउने निर्णय

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाले वडा नम्बर १ बेगमा अस्पताल बनाउने भएको छ । बुधबार सम्पन्न नवौं गाउँसभामा बहुमतबाट गाउँपालिकामा विवादीत बनेको १० शैयाको आधारभुत अस्पताल बनाउने निर्णय भएको हो । बेग स्वास्थ्य चौकी स्तरोन्नती गरी अस्पताल बनाउने भएको गाउँपालिकाले जनाएको छ ।

संघिय सरकार मार्फत निर्माण हुन लागेको अस्पताल भवन बनाउनका लागि गाउँपालिकाको केन्द्र मौवाफाँट, रघुगंगा–३ पिप्ले स्वास्थ्य चौकी र बेग स्वास्थ्य चौकीलाई स्तरोन्नती गर्ने बारेमा विवाद भएपछि गाउँसभा मार्फत स्थानको टुंगो लगाईएको हो ।ठाउँको विवादका कारण मङ्सिर १५ गते तय गरिएको अस्पताल शिलान्यास कार्यक्रम हुन सकेको थिएन ।

तीन स्थानलाई विकल्पका रुपमा अघि सारेर गाउँसभामा सहभागी गाउँसभा सदस्यहरुको बहुमतबाट बेगमा अस्पताल निर्माण गर्ने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । गाउँपालिकामा कायम ४२ जना गाउँसभा सदस्यमध्ये सभामा ३५ जनाको उपस्थिती रहेको थियो ।अस्पतालको स्थान छनौटको मतदानमा सहभागी ३० जनामध्ये २६ जनाले बेग स्वास्थ्य चौकी र ४ जनाले मौवाफाँटको पक्षमा मत जाहेर गर्नुभएको थियो । बहुमतबाट स्थान छनौट गर्ने निर्णयमा वडा नम्बर ३ पिप्लेका वडा अध्यक्ष जिवनकुमार मल्ल सहित पिप्लेका ३ जना जनप्रतिनिधिले फरकमत राख्नुभएको छ । मतदा प्रक्रियामा बराबर मत नपरेपछि गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी र उपाध्यक्ष कमला तिलिजाले मत जाहेर गर्न नपरेको बताईएको छ ।

सो गाउँसभाले वडा नम्बर ३ लाई दुई वटा वडामा कायम गर्न समेत सिफारिस गर्ने निर्णय गरेको छ । वडा ३ को मालिका, अक्षता, कलेजाबाङ, फुलवारी, मौवाफाँट र कुदबाङ क्षेत्रलाई समेटेर नयाँ वडा कायम गर्न प्रदेश सरकार मार्फत संघिय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष भबहादुर भण्डारीले जानकारी दिनुभयो । त्यसैगरि गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि रघुगंगा नदिबाट पारि रहेका भुगोललाई समेटेर थप नयाँ गाउँपालिका बनाउनको लागि समेत अनुरोध गर्ने निर्णय गाउँसभाले गरेको छ । वडा नम्बर ५ झिँ, वडा नम्बर ६ पाखापानी र वडा नम्बर ८ को कुइनेबस्तीलाई समेटेर पाखापानीमा केन्द्र रहने गरि नयाँ गाउँपालिका माग गर्ने निर्णय भएको छ ।

गाउँसभाले मौवाफाँटमा व्यवस्थापन भैरहेको जग्गामा प्रशासकिय भवन निर्माण कार्यलाई अघि बढाउने निर्णय समेत गरेको छ । भवन निर्माणमा जिल्ला समन्वय समिति मार्फत रु ६० लाख बजेट विनियोजन भएको छ भने चालु आर्थिक बर्षमै गाउँपालिकाले रु २० लाख बजेट उपलब्ध गराएको छ । प्रमुख प्रशासकिय भवन निर्माणमा प्रदेश सरकारले रु १ करोड उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ भने संघिय मामिला मन्त्रालयले रु ९ करोड सम्म बजेट उपलब्ध गराउन सक्ने गरि कार्यविधि बनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेढ वर्षअघि एक स्थानीय तह एक अस्पताल कार्यक्रमअन्तर्गत रघुगङ्गा–१ बेगलाई छनोट गरेको थियो । २०७७ साल कात्तिक २० गतेको कार्यपालिका बैठकले सबै पालिकावासीलाई सेवा लिन पायक पर्ने र सहज हुने भएकाले पिप्ले स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै गाउँपालिकाको केन्द्रमा व्यवस्थापन गरेको जग्गामा १० श्यया क्षमताको अस्पताल बनाउने निर्णय गरेको थियो । गाउँपालिकाको केन्द्र मौवाफाँटमा अस्पताल बनाउने आशयले निर्णय गरिए पनि स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक अस्पतालमा स्तरोन्नति हुने स्वास्थ्य चौकीको सूचीमा पिप्ले स्वास्थ्य चौकीलाई राखेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार