कोरोना संक्रमणबाट विदेशमा थप ३ नेपालीको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार यो साता युकेमा १ जना र पोर्चुगलमा २ जनाको मृत्यु भएको हो । संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसंगै विदेशमा कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ३ सय १५ पुगेको छ ।

संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ३ सय ८५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये ५० हजार ६ सय ५६ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९४ प्रतिशत हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता स्पेन, पोल्याण्ड, जापान, युएई, कुवेत, साउदी अरब, कतारमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा १ हजार ८ सय ७० जनाको निधन भएको छ। नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ६१ हजार ४ सय ३८ छ भने २ लाख ५३ हजार ८ सय ५७ जना अर्थात ९७.१ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार