ट्राफिक व्यवस्थापन अभियान सुरु

दमौली । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय कास्कीले प्रदेशस्तरीय ट्राफिक व्यवस्थापन तथा सुधार अभियान शुभारम्भ गरेको छ । दुईपाङ्ग्रे सवारी साधनलाई लक्षित गरी प्रदेश ट्राफिक प्रहरी कार्यालयले तनहुँबाट यस अभियान शुभारम्भ गरेको हो । यस अभियानअन्तर्गत मुख्य शहरी क्षेत्रमा दुईपाङ्ग्रे सवारी चालकलाई सडकमै रोकेर प्रशिक्षण दिइने प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रभुप्रसाद ढकालले जानकारी दिए ।

गण्डकी प्रदेशमा भएका सवारी दुर्घटना बढी मात्रामा दुईपाङ्ग्रे सवारी साधनका कारण भएकाले ती सवारी चालकलाई प्रशिक्षण कार्यक्रम आवश्यक भएको उनले बताए । ढकालका अनुसार चालु आर्थिक वर्षमा गण्डकी प्रदेशमा १ सय ८६ सवारी दुर्घटना भएकामा १ सय १४ दुर्घटना दुईपाङ्ग्रे सवारीबाट भएका छन् । यस अवधिमा सवारी चालकको लापरबाहीले १ सय ३७ दुर्घटना भएका छन् । “नेपालमा हुने दुर्घटनामध्ये दुईपाङ्ग्रेको सङ्ख्या अत्याधिक छ, दुईपाङ्ग्रे सवारी साधनबाट हुने दुर्घटनाको उच्च जोखिम कम गर्न प्रदेशभर प्रशिक्षण अभियान सञ्चालन गर्छौँ,” उनले भने ।

ट्राफिक व्यवस्थापन तथा सुधार अभियानअन्तर्गत विशेषतः तीनवटा मुख्य कार्यक्रम सञ्चालन गरिनेछ । दुईपाङ्ग्रे सवारीका चालकलाई सडकमै प्रशिक्षण, सवारी दुर्घटना कम हुने उपायका बारेमा सिकाउने, ठूला सवारी साधनका चालकलाई सडक अनुशासनका बारेमा सिकाइने छ ।

सप्ताहव्यापी रुपमा हुने अभियानमा तनहुँ जिल्लाका शहरी ठाउँमा सडकमै पाँच मिनेट मोटरसाइकल र स्कुटर चालकलाई प्रशिक्षण दिइने छ । “एकपटकमा १५ देखि २० वटा दुईपाङ्ग्रे सवारी रोकेर प्रशिक्षण दिन्छौँ”, उनले भने, “सवारी चलाउँदा ध्यान दिनुपर्ने कुरा, सडक दुर्घटना न्यूनीकरणका उपायबारे सिकाउछौँ ।” यस अभियान दैनिक रुपमा डेढ घण्टा सञ्चालन गरिने छ ।

अभियानको शुभारम्भ गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले ट्राफिक व्यवस्थापन तथा सुधारका लागि प्रदेश सरकारको सदैव सहयोग रहने प्रतिबद्धता जनाए । सवारी साधनको सङ्ख्या बढ्दै गएको र सडक संरचनाका कारण दुर्घटना हुने गरेकाले सडक संरचना सुधारको आवश्यकता रहेको मन्त्री चुमानले बताए । ट्राफिकलाई उपकरणयुक्त र प्रविधियुक्त बनाउने अभियानमा प्रदेश सरकार लागिपरेको मन्त्री चुमानको भनाइ छ ।

ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले ट्राफिक व्यवस्थापन तथा सुधारका लागि नगरपालिका सदैव सहकार्य गर्न तयार रहेको बताए । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले ट्राफिक व्यवस्थापन तथा सुधारले शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने बताए । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार