रौतहटमा अपाङ्गता भएका बालबालिकाका लागि अध्ययन केन्द्र स्थापना हुँदै

वीरगञ्ज । रौतहटको परोहा नगरपालिकामा अपाङ्गता भएका बालबालिकाको शिक्षाका लागि अपाङ्गता अध्ययन केन्द्र स्थापना गरिने भएको छ । त्यसका लागि परोहा नगरपालिका–६ बसन्तपटी भेड़ियाही टोलमा केन्द्रको भवन निर्माण हुँदैछ ।

अपाङ्गता भएका व्यक्तिको हकहित तथा सशक्तिकरणमा काम गर्दै आएको गैर सहकारी संस्था छाया नेपाल र परोहा नगरपालिका भवन बनाउन लागि परेका छन् । परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिलले भवनको शिलान्यास गरिसकेका छन् ।

भवन निर्माणमा ५७ लाख लाग्ने अनुमान गरिएको छ । भवनका लागि छाया नेपालले २८ लाख ५० हजारमा ३ कट्ठा जमिन खरिद गरेको थियो । अपाङ्गता भएका बालबालिकालाई बस्ने, खाने र उनीहरुले बुझ्ने ढंगले अध्ययन गर्ने व्यवस्था अध्ययन केन्द्रमा गर्ने योजना छ । केन्द्रको भवन बनेपछि अपाङ्गता भएका बालबालिकाले सुरक्षित वातावरणमा शिक्षा हासिल गर्न पाउने नगर प्रमुख वकिलले बताए ।

‘जग्गा संस्थाले खरिद गरेको हो, भवन निर्माण, बिजुली, खानेपानीका लागि सहकार्य गर्ने कुरा भएको छ,’ नगर प्रमुख वकिलले भने, ‘पहिले नगरपालिकामा अपाङ्गता भएका बालबालिका छनोट गर्छौं, तत्काल त नगरपालिका भित्रका बालबालिकालाई समेट्ने योजना छ, अन्यत्रबाट कस्तो प्रतिक्रिया र साथ सहयोग आउँछ हेरौं । जिल्ला भरीका बालबालिकालाई समेटेर लैजान पनि सकिन्छ ।’ शिक्षामा सबैको समान पहुँच पुर्‍याउनका लागि अध्ययन केन्द्र स्थापनामा जुटेको उनले बताए । अनलाइनखबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार