भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघ्यो

नयाँदिल्ली, सिन्ह्वा । भारतमा गत २४ घन्टामा कोरोना सङ्क्रमणको कारण १ सय ६३ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५३ हजार ३२ जना पुगेको छ । यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड छ लाख २५ हजारभन्दा बढी पुगेको छ । विगत २४ घन्टाको अवधिमा भारतमा १४ हजार ५ सय ४५ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड छ लाख २५ हजार ४ सय २८ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड दुई लाख ८३ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ८८ हजार ६ सय ८८ जना सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा एक साता अघिदेखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । सो दिनदेखि हालसम्म १० लाख व्यक्तिले खोप लगाइसेकेका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा शुक्रबार २२७ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र ८ जनाको मृत्यु भएको छ । भारतमा कोभिड–१९ सुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ७ सय ७२ को मृत्यु भइसकेको छ । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बिहीबारसम्म देशभर १९ करोड १४ लाख ४८ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । बुधबार एकै दिनमा मात्र आठ लाख २ सय ४२ जनाको कोभिड–१९ परीक्षण गरेको जनाइएको छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार