२५ जना फरार अभियुक्त पक्राउ

धादिङ । चितवन प्रहरीले एकै दिन २५ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ। विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका अभियुक्तहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयले विशेष प्रहरी टोली परिचालन गरेर खोज तलास गरी पक्राउ गरिएको बताइएको छ। पक्राउ गरिएका २५ जनामध्ये २२ जना पुरुष र तीनजना महिला रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए।

लागुऔषध, चोरी, सवारी ज्यान, राष्ट्रिय निकुञ्ज सम्बन्धी कसुर, केही सार्वजनिक अपराध, जालसाजी, सम्बन्ध विच्छेद मुद्दामा फरार रहेका व्यक्तिलाई पक्राउ गरिएको उनले बताए। ‘विभिन्न मुद्दामा फरार रहेका २५ जनालाई एकै दिन पक्राउ गरेका छौं,’ डिएसपी थापाले भने, ‘पक्राउ गरिएकालाई सजाय भुक्तानका लागि चितवन जिल्ला अदालतमा उपस्थित गराइएको छ।’

पक्राउ परेकामध्ये राष्ट्रिय निकुञ्ज सम्बन्धी ७ जना, केही सार्वजनिक अपराधमा ५ जना, सवारी ज्यानमा ३ जना, गाली बेइजती ३ जना, जालसाजी, चोरी, लागुऔषध, सम्बन्ध विच्छेद, सवारी अंगभगमा एक÷एक जना फरार अभियुक्तलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। अन्य घटनाका २ जना रहेको डिएसपी थापाले बताए। चितवन प्रहरीले चालु आर्थिक वर्षको अहिलेसम्म १ सय ८६ जना फरार अभियुक्तहरू पक्राउ गरेको छ। नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार