काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले यही माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिने जानकारी दिएका छन् । यसका लागि समूह तयार पारिसकेको उनले बताए । सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो जनाएका हुन् ।
मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको सुरुआत भइसकेको र नियन्त्रणको ‘टर्निङ प्वाइन्ट’मा पुगेको प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले पहिलो चरणमा अगाडि रहेर कोभिड–१९ नियन्त्रणमा खटिएका व्यक्तिलाई खोप लगाइने जानकारी दिए । पर्याप्त खोप नआइसकेकाले अझै केही महिना सावधानी अपनाउन प्रधानमन्त्री ओलीले सबैलाई आग्रह समेत गरेका छन् ।
भारत सरकारले यसअघि बिहीबार नै नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप हस्तान्तरण गरिसकेको छ । भारतको पुनेस्थित सेरम इन्स्टिच्युटमा उत्पादित खोप यही बिहीबार नेपाल सरकारलाई भारतले हस्तान्तरण गरेको हो । जुन खोप नेपाल सरकारले टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिएको छ । उक्त खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सरफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक तथा शव व्यवस्थापन गर्ने टोलीलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। बागलुङ पोस्टबाट साभार