छुट्टाछुट्टै दुई स्थानबाट लागुऔषधसहित ५ जना पक्राउ

मोरङ । मोरङका छुट्टाछुट्टै दुई स्थानबाट लागुऔषध र गोलीसहित पाँचलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीको टोलीले आइतबार पथरीशनिश्चरे नगरपालिका–४ स्थित कल्पना राईको घरबाट लागुऔषध तथा गोलीसहित ४ जनालाई पक्राउ गरेको जनाएको छ । ‘कल्पना राईको घरबाट लागुऔषध ब्राउनसुगर, गाँजा र गोली बरामद गरेका छौं,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले भने, ‘राईको घरमा लागुऔषध सेवन र बिक्रीवितरण भइरहेको थाहा पाएपछि पुगेको प्रहरी टोलीले घर खानतलासी लागुऔषध र गोली बरामद गरेको हो ।’

पथरी–४ का २२ वर्षीय दशरथ भन्ने छिरिङ राई, २४ वर्षीय सिजन भन्ने नवराज राई र १९ वर्षीय साजन राई तथा भोजपुर साल्पासिलोछो गाउँपालिका–२ का १९ वर्षीय निराज राई प्रहरीले पक्राउ गरेको जनाएको छ । राईको घरबाट पक्राउ परेकाहरूबाट लागुऔषध ब्राउनसुगर ६३० मिलिग्राम, गाँजा ७६ ग्राम, विभिन्न हातहतियारमा लाग्ने गोली ४ थान, गोलीको खोका १ थान, ट्रामाडोल क्यापसुल ९० पिस, नगद ६ हजार ७ सय ३० रुपैयाँ, खुकुरी १ थान, मोबायल ४ थान, ट्याब १ थान, इस्पासपेन ट्याब्लेट ५४ पिस, को १४ प ४७२५ नम्बरको मोटरसाइकललगायतका सामान बरामद गरेको डिएसपी राईले जानकारी दिए । पक्राउ परेकोहरूलाई लागुऔषध तथा हातहतियार खरखजना मुद्दामा थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

त्यस्तै भारतको जोगबनीबाट विराटनगर–१७ मटेरुवा नाका हुँदै आउँदै गरेका धरान–९ का ३९ वर्षीय सुवास लामिछानेलाई प्रहरी लागुऔषधसहित पक्राउ गरेको जनाएको छ । पक्राउ परेका लामिछानेले बोकेको झोलाबाट स्पासमो १ सय ६९ चक्की, डाइलेस डिसी २० बोतल, निटराभेट १५ चक्की, निटाजकेयर २० चक्की लागुऔषध बरामद गरेको र उनलाई लागुऔषध मुद्दामा थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रहरीले विराटनगर–६ का २० वर्षीय अजय पासवानलाई मोटरसाइकल चोरी गरी दरैया नाका हुँदा भारततर्फ लैजाँदै गर्दा पक्राउ गरेको प्रहरीले जनाएको छ । विराटनगर–१२ मंगलबारे हटियामा पार्किङ गरी राखिएको प्रदेश–१–०२–०४० प ४३७३ नम्बर मोटरसाइकल चोरी लैजाँदै गर्दा पक्राउ परेका पासवानलाई चोरी मुद्दामा थप अनुसन्धान अघि बढाएको मोरङ प्रहरीले जनाएको छ ।nagariknews.nagariknetwork बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार