काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक नेपालगंज उपमहानगरपालिका–१८ बस्ने २७ वर्षीय प्रविण थापा मगरको हत्यामा संलग्न रहेको अभियोगमा भक्तपुरबाट एकजना पक्राउ परेका छन् ।
फरार रहेका अभियुक्त बाँके नेपालगंज उपमहानगरपालिका ६ फुल्टेक्रा बस्ने १८ वर्षीय बिवेक परियारलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय बाँके नेपालगंजमा कार्यरत प्रविण गत माघ २ गते नेपालगंज उपमहानगरपालिका १८ स्थित खेतबारीमा मृत अवस्थामा फेला परेको थियो ।
सो घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न परियारलाई भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीमा लुकिछिपी रहेको अवस्थामा फेला पारी प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय, बाँकेमा पठाउने तयारी भइरहेको ब्यूरोले जनाएको छ । नागरिक खबरबाट