अन्नपुर्ण गाउँपालिकाद्धारा कृषकलाई हाते ट्याक्टर वितरण

सुरेन गुरुङ
पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । कृषि यान्त्रीकरण प्रवद्र्धन कार्यक्रम अन्तर्गत गाउँपालिकाको पचास प्रतिशत अनुदानमा ११ वटा हाते ट्याक्टर वितरण गरिएको हो । गाउँपालिकाका बस्ती स्तरबाट छनौट भएर आएका व्यवसायीक कृषि फर्म र दर्ता भएका कृषि समुहलाई ६ लाख रुपैयाँ बढीको सो उपकरण वितरण गरिएको गाउँपालिकाको कृषी शाखाका कृषि अधिकृत प्रविन अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकाले कृषकहरुलाई उपकरण प्रयोग सम्बन्धी तालिम दिएको छ । ५० प्रतिशत सहुलियत अनुदानमा ट्याक्टर पाएपछि कृषकहरु हर्षित भएका छन । सो हाते ट्याक्टर आइतबार गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनले कृषकहरुलाई वितरण गर्नुभयो । अध्यक्ष क्याप्टेन गर्बुजा पुनले परम्परागत रुपमा गोरु जोतिने स्थानमा हाते ट्याक्टर प्रयोग गर्दा सजिलो र काम छिटो छरितो होस भनेर ट्याक्टर वितरण गरिएको बताउनुभयो।

परम्परागत कृषि पेशालाई व्यवसायिक र आधुनिकीकरणतर्फ विकास गराउन कृषकलाई हाते ट्याक्टर सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । ट्याक्टरले कृषकलाई सहज र कृषि यान्त्रीकरणमा सहयोग पुग्ने बताउदै अध्यक्ष क्याप्टेन गर्बुजा पुनले छिटो छरितो बेमौसमी खेती गर्ने कृषकलाई ट्याक्टर महत्वपुर्ण हुने बताउनुभयो । गोरुमार्फत खेत जोत्दै आएका किसानले ट्याक्टरको प्रयोग गर्दा खेतको सबै स्थानमा एकै नासले जोत्न सकिने बताएका छन् । कार्यक्रममा गाउँपालिकाका  निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्य ,प्राविधिक कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो ।

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार