कृष्ण सेन–मदन स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार खड्कालाई

म्याग्दी । कृष्ण सेन–मदन स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार म्याग्दीका अग्रज पत्रकार घनश्याम खड्कालाई प्रदान गरिएको छ । प्रेस संगठन नेपालको शुक्रबार बेनीमा भएको जिल्ला भेलाको अवसरमा खड्कालाई सात हजार रुपैयाँ सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका संस्थापक अध्यक्ष रहनुभएका खड्का बीस बर्षदेखि पत्रकारितामा क्रियाशिल हुनुहुन्छ । उहाँ कान्तिपुर दैनिकसँग आवद्ध हुनुहुन्छ ।

प्रेस संगठन नेपालका सह–इञ्चार्ज ओम शर्मा, गण्डकी प्रदेश इञ्चार्ज हरिनारायण गौतम, नेकपा म्याग्दीका अध्यक्ष गोबिन्द पौडेल, सहिद मदन केसीका भाई तथा प्रदेश सांसद बिनोद केसीले पुरस्कार प्रदान गर्नुभएको थियो । वि.स २०७२ मा चलचित्र भिमदत्तको बिशेष प्रर्दशनी गरेर तत्कालीन क्रान्तिकारी पत्रकार संघले ७५ हजार रुपैयाँ राशीको कोष स्थापना गरेको थियो । कोषमा प्रदेशसभा सदस्य बिनोद केसीले जनयुद्धमा दिवंगत हुनुभएका दाजु मदनको स्मृतिमा दुई वर्षअघि २५ हजार रुपैयाँ सहयोग गर्नुभएको थियो ।

भेला तथा पुरस्कार बितरण समारोहमा केसीले थप २५ हजार रुपैयाँ उपलब्ध गराउनुभएको थियो । अक्षयकोषको ब्याजबाट प्रत्येक दुई वर्षमा म्याग्दीमा क्रियाशिल एक जना पत्रकारलाई पुरस्कृत गरिने प्रेस संगठन म्याग्दीका अध्यक्ष कमल खत्रीले बताउनुभयो ।

सोही भेलाले खत्री संयोजक र लोकनाथ (भुषाल) घायलश्री सहसंयोजक रहनुभएको १७ सदस्यीय प्रेस संगठन नेपालको जिल्ला संगठन कमिटि गठन गरेको छ । भेलालाई सम्बोधन गर्नुहुदै सहइञ्चार्ज शर्माले मर्यादित र जिम्मेवार पत्रकारितामा जोड दिनुभयो । उहाँले मोफसलमा पत्रकारिताको बिकासको सम्भावना भएको बताउँदै क्षमता बिकास, न्युनतम पारिश्रमिक ऐनको कार्यान्वयनमा संगठनले प्राथमिकता दिने बताउनुभयो ।

संगठनका गण्डकी प्रदेश इञ्चार्ज हरिनारायण गौतमले पत्रकारितामा शुद्धीकरणको आवश्यकता औल्याउदै पत्रकार महासंघको आगामी अधिवेशनमा अग्रगामी पत्रकार संगठनहरुबीच सहकार्यको आवश्यकता रहेको बताउनुभयो । नेकपा म्याग्दीका अध्यक्ष गोबिन्द पौडेल, सचिव बालकृष्ण सुबेदी, गण्डकी प्रदेश सांसद केसीले म्याग्दीको बिकास, शुसासन, बिपद् ब्यवस्थापन, सामाजिक, आर्थिक लगायत समग्र क्षेत्रमा पत्रकार तथा सञ्चारकर्मीहरुको महत्वपूर्ण योगदान भएको र त्यसको नेतृत्व प्रेस संगठनले गरेको बताउनुभयो ।

प्रेस संगठनका गण्डकी प्रदेश संयोजक अर्जुन काफ्ले, सहइञ्चार्ज त्रिभुवन पौडेल, श्रीराम सिग्देल, नेता नवराज सुबेदीले पत्रकारहरुको वृत्ति बिकास, स्थानीय सञ्चार माध्यमको प्रर्वद्धनमा समानुपातिक बिज्ञापन प्रणाली लागू गर्नुपर्ने बताउनुभयो । पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्माले पत्रकारहरुबीच एकता, सहकार्य र सद्भावको वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । पुरस्कृत पत्रकार खड्काले पत्रकारिता समाजको ऐन नभएर तस्बिर भएको मान्यता राख्नुपर्ने बताउनुभयो ।

प्रेस संगठन नेपाल म्याग्दीका अध्यक्ष कमल खत्रीको अध्यक्षता, सन्दिप खत्रीको सञ्चालन र पदम बिश्वकर्माको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा संगठनका केन्द्रिय सदस्य सन्तोष गौतमले पुरस्कार छनौट प्रक्रियाको बारेमा जानकारी गराउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार