बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा १९ गतेसम्म बन्द हुने

बेनी । बिस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्निति र बिस्तारको काम गर्न बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा बन्द हुने समय दुई दिन थपिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा सोमबार बसेको बैठकले चैत १९ गतेसम्म यातायात बन्द गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङकी प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको अध्यक्षतामा बसेको बैठकले तिब्र रुपमा भैरहेको सडक बिस्तारको कामलाई पूर्णता दिन दुई दिन समय थप गर्ने निर्णय गरेको हो ।प्रजिअ पौडेल सहित सुरक्षा र आयोजनाका अधिकारीहरुले सडक निर्माण स्थलको स्थलगत निरिक्षण गरेपछि समय थप गर्नुपर्ने निष्कर्ष निकाल्नुभएको हो ।

यसअघि चैत १४ गतेदेखि १७ गतेसम्मलाई बेनी–जोमसोम सडकमा सिधा यातायात बन्द गरिएको थियो । उत्तरी-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर  अन्तर्गत  बेनी–जोमसोम–कोरला सडक आयोजनाले म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिर र कैकुखोला क्षेत्रमा सवारी सञ्चालन बन्द छ ।

सडक स्तरोन्नति, बेस बगाउने तथा पहिरोका कारण सवारी साधन चल्न नसक्ने र चलाउँदा पनि अत्यन्तै जोखिमयुक्त हुने भएकाले सम्भावित जोखिम र दुर्घटना रोक्न सवारी आवागमन बन्द गर्नु परेको आयोजनाले जनाएको छ ।

सडक बन्द हुने स्थान बाहेकका ठाउँमा भने सवारी चलेका छन् । यातायात ब्यवसायीले सवारी साधन परिवर्तन गरेर गन्तब्यमा पुग्ने ब्यवस्था मिलाएका छन् । म्याग्दी र मुस्ताङ खण्डको आन्तरिक यातायात सेवामा भने असर नपर्ने बताइएको छ । बेनी–जोमसोम ७६ किमी सडक ४ प्याकेजमा स्तरोन्नति भइरहेको छ ।

करिब ६ अर्ब रुपैयाँ लागतको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना बि.स. २०७४ बाट निमार्ण सुरु भएको हो । जोमसोम–कोरला सडक ग्राभेल गर्ने काम भइरहेको छ ।कोरिडोरका अनुसार जोमसोम–कोरला सडकको ७ प्याकेज मध्ये ४ प्याकेजको काम निर्माण सकिएको ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार