जिल्ला अदालतको फैसलाविरुद्ध ‘सिद्धबाबा’ले दिए पुनरावेदन

मोरङ । कृष्णबहादुर गिरी ‘सिद्धबाबा’ले बलात्कार मुद्दामा जिल्ला अदालत सुनसरीबाट सफाइ पाएको फैसलाविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन दर्ता गराएका छन् ।

जिल्ला अदालत सुनसरीको फैसलाले सहमतिमै शारीरिक सम्बन्ध भएको स्थापित भएकाले अन्यायमा परेको भन्दै उनले बिहीबार उच्च अदालतमा पुनरावेदन दर्ता गराएका हुन् । उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले लोभ, मोह, काम क्रोध त्याग गरेर सन्यासी भएर हिँडेको अवस्थामा सहमतिमै शारीरिक सम्बन्ध भएको फैसलाले आफू अन्यायमा परेको भन्दै गिरीले बिहीबार पुनरावेदन दर्ता गराएको बताए ।

गत मंसिर २२ गते जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले उमेर पुगेका महिला र पुरुषबीचको शारीरिक सम्बन्धलाई जबर्जस्ती करणी भन्न नमिल्ने भन्दै गिरीलाई सफाइ दिएको थियो । तर अदालतको फैसलाले महिलासँग शारीरिक सम्बन्ध कायम भएको स्थापित भएकाले अन्यायमा परेको हुँदा पूर्णरुपमा सफाइको माग गर्दै गिरीले पुनरावेदन गरेको सुवेदीले बताए ।

जिल्ला अदालत सुनसरीले गिरीलाई दिएको सफाइविरुद्ध उच्च सरकारी वकिलको कार्यालयले फागुन २८ गते उच्च अदालत विराटनगरमा पुनरावेदन दर्ता गराएको छ । उच्च अदालत विराटनगरका न्यायाधीशद्वय प्रेमराज ढकाल र रेनुका शाहको संयुक्त इजलासले चैत १३ गते १५ दिनभित्र झगडिया झिकाउने आदेश गरेका थिए । उच्च अदालतले गिरीविरुद्ध म्याद तामेली गरेपछि उनले पनि पुनरावेदन गरेको हो ।

जिल्ला अदालत सुनसरीको फैसलाको पूर्णपाठमा जाहेरवाला र प्रतिवादीबीच आदान–प्रदान भएका म्यासेजहरूबाट सहमतिमा शारीरिक सम्पर्क भएको भन्ने देखिएकाले अभियोग दाबी बमोजिम जबर्जस्ती करणीको कसुर कायम गर्न मिल्ने नदेखिएको उल्लेख छ ।

फागुन २८ गते उच्च सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा पुनरावेदनका लागि निवेदन दर्ता गराएको थियो । २०७६ कात्तिक ४ गते राति ‘सिद्धबाबा’ले करणी गरेको भनी २०७६ मंसिर ११ गते प्रहरीमा जाहेरी दर्ता भएको थियो । अदालतले सफाइ दिएपछि गिरी चतरास्थित आश्रममा बस्दै आएका छन् ।ekantipur बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार