ऐतिहासिक भगवती कोत मन्दिरको पुननिर्माण सुरु

म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको ऐतिहासिक भगवती कोत मन्दिरको पुननिर्माण सुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको पुरातत्व विभागबाट मन्दिरको पुननिर्माण सुरु गरेको हो ।

विभागबाट मन्दिर पुननिर्माणको लागि मिलीजुली किवेष्ट जेभीले कर सहित ६९ लाख ३० हजार ५६६ ठेक्का सम्झौता गरेको छ । आगामी असार मसान्तभित्रै योजना सम्पन्न गर्ने गरि कार्यक्षेत्रमा काम सुरु गरिएको निर्माण कम्पनीका प्रतिनिधि राजिब ढुंगेलले बताउनुभयो ।

२०७२ सालको भुकम्पका कारण र पुरानो संरचनाका कारण जिर्ण बन्दै गएको मन्दिरलाई पुरानै स्वरुप र भुकम्प प्रतिरोधी बनाउने भगवती कोत मन्दिर पुजा ब्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्ले बताउनुभयो । ‘मन्दिरमा आधुनिक निर्माण सामाग्रीको प्रयोग नगरिकन मौलिकतामै आधारित पुर्ननिर्माण गर्न लागिएको छ’– उहाँले भन्नुभयो ।

मन्दिर पुननिर्माणको लागि डिजाइन स्टीमेट तयार गर्दा नै भुकम्पप्रतिरोधि प्रविधि अवलम्बन गरिने र ढुंगा र काठकै सामाग्री प्रयोग गर्नेतर्फ जोड दिईएको पुजा व्यवस्थापन समितिले जनाएको छ । जिल्लामा रहेका पुराना कोतमन्दिरहरुमा पर्ने यस भगवती कोत मन्दिरमा बडा दशैँको अवसरमा विषेश पुजा हुने गर्छ ।

धवलागिरी आईसफल पदमार्गले समेटिएको मन्दिरको धार्मिक ऐतिहासिक महत्वलाई प्रचार प्रसार गर्ने र पूर्वाधार निर्माण गर्ने कार्यलाई प्राथमिकता दिईएको वडा अध्यक्ष रिमबहादुर कटुवालले जानकारी दिनुभयो ।यस कोटमन्दिरको इतिहास १७ औँ शताब्दीको विरासतसँग जोडिएको छ ।जिल्ला सदरमुकाम बेनीबाट चार कोस उत्तरमा कालीगण्डकी र रघुगङ्गा नदीको दोभानको शिरमा रहेको भगवती कोत मन्दिरमा पुग्न बेनी–गलेश्वर–पिप्ले–भगवती सडकको सहज पुहँच छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार