जनप्रतिनिधि चढ्ने गाडी एम्बुलेन्समा रूपान्तरण

दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले पदाधिकारीले प्रयोग गर्दै आएको सवारीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने भएको छ । कोरोना सङ्क्रमित बढ्दै जाँदा समयमै एम्बुलेन्स पाउन नसक्ने भएपछि गाउँपालिकाले पदाधिकारी चढ्दै आएको सवारीलाई एम्बुलेन्स बनाएको हो ।

हाल गाउँपालिकामा एउटा मात्र एम्बुलेन्स रहेको र सर्वसाधारणको सहजताका लागि गाउँपालिकाको गाडीलाई एम्बुलेन्स बनाइएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । बन्दीपुरमा हाल एउटा जीर्ण अवस्थामा रहेको एम्बुलेन्स छ । “पुरानो भएकाले जुनसुकै बेला पनि धोका हुनसक्छ, त्यही भएर पूर्वतयारीस्वरूप हामीले नै चढ्दै आएको गाडीलाई एम्बुलेन्स बनायौँ”, थापाले भन्नुभयो ।

गाउँपालिकाले एम्बुलेन्स खरिदका लागि दुईपटक सूचना आह्वान गरेको थियो तर त्यो अवधिमा गाउँपालिकाले एम्बुलेन्स खरिद गर्न सकेन । “एम्बुलेन्स किन्न सूचना निकाल्यौँ, तर एम्बुलेन्स नै पाइएन”, उहाँले भन्नुभयो । कोरोना सङ्क्रमितको उपचारका लागि गाउँपालिकाले बन्दीपुर अस्पतालमा १५ शय्याको आइसोलेसनसमेत तयार पारिसकेको छ ।

आइसोलेसनमा हाल १० थान अक्सिजन सिलिन्डर मौज्दात छ भने प्रहरीले डुम्रेबाट सङ्कलन गरेको १० थान सिलिन्डर पनि प्राप्त भएको छ । “बन्दीपुर गाउँपालिका कोभिड सङ्क्रमितको उपचारका लागि तयारी अवस्थामा छ”, थापाले भन्नुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार