बेनीमा होल्डिङ सेन्टर

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी स्थित कालिपुलमा होल्डि सेन्टर सञ्चालनमा ल्याइएको छ । महामारीको रुपमा फैलिएको कोरोना रोकथाम गर्न विदेश र बाहिरी जिल्लाबाट आवतजावत गर्ने यात्रुहरुलाई व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालयको समन्वय तथा जिल्ला स्थित सबै स्थानीय तहको सहयोगमा होल्डिङ सेन्टर संचालनमा ल्याइएको हो ।

सो होल्डिङ सेन्टर तथा नागरिक सहायता कक्ष कालिपुल स्थित पर्यटक सुचना केन्द्रको भवनमा संचालन गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्ष श्यामकुमार राईले बताउनुभयो । उहाँका अनुसार होल्डिङ सेन्टरमा विदेश तथा अन्य जिल्लाबाट आउने नागरिकको बिस्तृत बिवरण सहितको अभिलेख राख्ने र सम्बन्धीत वडाका जनप्रतिनिधिसंग समन्वय गरेर घर पठाउने व्यवस्था मिलाइएको छ ।

जिल्लामा कोरोना संक्रण बढ्ढै गएको र बाहिरी जिल्लाबाट म्याग्दी आउने नागरिकहरु गाउँमा पुगेर क्वारिन्टीनमा नबसी अन्य नागरिक संग सम्पर्क हुँदा थप कोरोना संक्रमणको जोखिम बढ्नेभएपछि कोभिड–१९ जिल्ला संकट व्यवस्थपान केन्द्रले होल्डिङ सेन्टर संचालनमा ल्याउने निर्णय गरेको थियो । होल्डिङ सेन्टरमा जिल्लाका ६ वटै स्थानीय तहका कर्मचारी खटाइएको छ ।

कालिपूल स्थित चेकपोष्टबाट भित्रने सवारी साधनका यात्रुलाई सिधै होल्डिङ सेन्टरमा झारिने स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।चेकपोष्टदेखी होल्डिङ सेन्टर सम्म सवारी साधन र यात्रुलाई ल्याउन सुरक्षाकर्मीले निगरानी गर्ने भएका छन् । जिल्लामा कोरोना संक्रमणको दर दिनानुदिन बढिरहेको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार म्याग्दीमा हालसम्म २ सय ७० जना भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार