बुटवल । बुटवल उपमहानगरपालिकाले आइसोलेसनमा रहेका संक्रमितका लागि लक्षित गरी निशुल्क अक्सिजन सेवा सुरु गरेको छ । उपमहानगरले बनाएको आइसोलेसन, होटल आइसोलेसन तथा आफ्नै घरमा आइसोलेट भएका संक्रमितलाई लक्षित गरी अक्सिजन सेवा सुरु गरिएको हो । स्वासप्रश्वासमा समस्या भएकाहरूबीच तत्काल स्वास्थ्यकर्मीसहितको टोलीले अक्सिजन लिएर पुग्ने बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदीले बताउनुभयो ।
उपमहानगर कार्यालय परिसरमा अक्सिजन सिलिन्डर, सिलिन्डर बोक्ने गाडी, बिरामी बोक्ने एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको सुवेदीले बताउनुभयो । आइसोलेसनबाट सूचना आउनासाथ जनशक्ति परिचालन हुनेगरि व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।
होम आइसोलेसनमा बसेका संक्रमितलाई तत्कालै अक्सिजनको व्यवस्था गर्न लागिएको नगर प्रमुख सुवेदीको भनाइ छ । उपप्रमुख गुमादेवी आचार्यको संयोजकत्वमा उपसमिति गठन गरेर अक्सिजन बैंक स्थापनाको प्रक्रिया अघि बढाइएको छ । सो समितिले उपमहानगरको स्वास्थ्य तथा जनसंख्या महाशाखामार्फत स्वास्थ्यकर्मी र प्राविधिकलाई अक्सिजन उत्पादक समक्ष छलफल गर्न, अक्सिजन सिलिन्डर संकलन गर्न र रिफिल गर्ने काम अघि बढाएको छ ।
अक्सिजन उत्पादक कम्पनी र कोरोना उपचारका लागि स्थापना भएका अस्पतालसँग प्राविधिक विषयमा छलफल भएको र अक्सिजन उपलव्ध गराउने समुदायका लागि मापदण्डसमेत बनाइएको उपप्रमुख आचार्यले बताउनुभयो । उता, उपमहानगरपालिकाले संक्रमितको परिवार तथा समुदायमा कन्ट्रयाक ट्रेसिङ गर्ने र लक्षण देखिए निशुल्क परीक्षणको समेत व्यवस्था मिलाएको छ । रातोपाटीबाट