बीएण्डसीमा कोरोना संक्रमितका लागि दुई सय बेड सञ्चालन

काठमाडौं । झापाको विर्तामोडस्थित बीएण्डसी अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्न आइतबारदेखि २०० बेड सञ्चालनमा ल्याएको छ । प्रदेश १, प्रदेश २ सहित देशका अन्य भागबाट ‘हवाई बेड लिफ्ट’ गरी कोभिडका संक्रमितलाई धमाधम बीएण्डसी पु¥याउने क्रम जारी रहेपछि अस्पतालले बेड थप गरेको हो ।

संक्रमितलाई उपचार गर्न सो संख्यामा बेड सञ्चालनमा आएको अस्पतालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाका बिरामीको चाप अस्पतालमा वृद्धि भएसँगै बेड थप गरिएको छ । हाम्रो दक्ष जनशक्ति, भौतिक पूर्वाधार तथा आधुनिक उपकरणका क्षमताले भ्याएसम्म बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्न अस्पताल प्रतिबद्ध रहेको छ ।’

मौज्दात रहेका ६५ भेन्टिलेटरसहित सघन उपचार कक्ष (आईसीयू)मध्ये गम्भीर संक्रमितका लागि ५० बेड छुट्याउने र ६० चिकित्सकसहित आवश्यक स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेको पनि अस्पतालले जनाएको छ । अस्पतालले २५ बेड मात्र कोरोनाका बिरामीलाई छुट्याएको थियो । पूर्वाञ्चल क्यान्सर अस्पताल र बीएण्डसी अस्पताल गरी कुल ९०० बेड रहेको छ ।

विज्ञप्तिमा भेन्टिलेटरमा उपचाररत १० सङ्क्रमितमध्ये ८ जना आइतबारदेखि भेन्टिलेटरमुक्त हुने र अन्य दुई जना पनि खतरामुक्त रहेका जनाइएको छ । अस्पतालले हालसम्म भेन्टिलेटरसहित सघन उपचार कक्ष (आईसीईयू) तथा अक्सिजनको अभाव नरहेको जनाएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार