
काठमाडौं । नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । महासंघले आइतबार विज्ञप्ति जारी गर्दै आगामी जेठ ५ देखि १८ गतेसम्म दोस्रो चरणको आन्दोलन सुरु गर्ने जनाएको छ ।
दोस्रो आन्दोलनको पहिलो दिन जेठ ५ गते महासंघले अघि सारेका माग तथा समसामयिक विषयमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र अर्थमन्त्री विष्णु पौडेलको ध्यानाकर्षणका लागि खुला पत्र पठाउने बुझाउने जनाएको छ ।
उक्त खुलापत्रलाई सोही दिन सबै शिक्षक कर्मचारीले सामाजिक सञ्जाल फेसबुकमार्फत सेयर गरेर महासंघलाई समर्थन गर्ने छन् । त्यस्तै ७ गते सबै शिक्षक,कर्मचारीले शिक्षामन्त्री र अर्थमन्त्रीको मोबाइल नम्बरमा शिक्षक तथा विद्यालय कर्मचारीलाई अविलम्ब कोभिडविरुद्धको खोप दिइयोस् र बालकक्षाका शिक्षक, कर्मचारीको तलव वृद्धि गरियोस् भन्ने नारालाई मसेज पठाउने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जेठ ९ गते संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीका संसदीय दलका सचेतक तथा महासघंबीच महासंघबाट पेस भएका माग र समसामयिक विषयमा अनलाइन अन्तक्रिया तथा छलफल गर्ने जनाएको छ ।
त्यस्तै १३ गते हरेक शिक्षक तथा कर्मचारीले नेपाल शिक्षक महासंघले शिक्षामन्त्री समक्ष पेस गरेको विरोधपत्र, मागपत्र र सम्झौतापत्रका छायाँप्रति आफू रहेको निवार्चन क्षेत्र भित्रका संघीय तथा प्रदेश सभाका माननीय सांसद्हरुको इमेल तथा म्यासेन्जरमा पठाउने र १८ गते तेस्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ । नागरिक खबरबाट