काँग्रेस सडक प्रदर्शनमा नउत्रने, सामाजिक सञ्जालमार्फत बहस चलाउने

काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्धको राजनीतिक र न्यायिक लडाइँलाई निरन्तरता दिने भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी सम्मिलित बैठकले पछिल्लो राजनीतिक घटनाको समीक्षा गर्दै विघटनविरुद्धको राजनीतिक र न्यायिक लडाइँलाई निरन्तरता दिने निष्कर्ष निकालेको हो ।

काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतका अनुसार बैठकले न्यायिक लडाइ अदालतमा र राजनीतिक लडाइ सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत थाल्नुपर्ने निर्णय गरेको छ । बैठकपछि उहाँले भन्नुभयो, ‘न्यायिक लडाइँअनुसार अदालतमा बहस गर्छौं । हामीले नागरिक समाज, राजनीतिक दल, आम नागरिकलाई राष्ट्रपति र प्रधानमन्त्रीको षड्यन्त्रमुलुक असंवैधानिक कदमबारे सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत सुसूचित गराउन बहस चलाउँछौं ।’

प्रधानमन्त्रीका काम र राष्ट्रपतिको निर्णयविरुद्ध पार्टीपंक्ति र आम नागरिकलाई सोही अनुसार मोबिलाइज निर्णय भएको महतले जानकारी दिनुभयो ।‘’हामीले संसद विघटनको कदमविरुद्ध नागरिक समाजदेखि लिएर पार्टीलाई पूर्ण रुपमा परिचालन गर्ने काम गर्छौं,’ महतको भनाइ छ ।

यस्तै बैठकले तत्काल सडकमा आउनु उपयुक्त नभएको पनि निष्कर्ष निकालेको छ । ‘कोभिड १९ का कारण राजनीतिक लडाइका लागि सडक आन्दोलनमा जान सक्ने अवस्था छैन । नभए लाखौँ मान्छे सडकमा निस्किसक्थे । तत्काल सडकमा जानु उपयुक्त हुँदैन भन्ने बैठकको निष्कर्ष निकालेको छ,’ महत भन्नुहुन्छ ।

जेष्ठ ७ गते मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा भएको प्रतिनिधिसभा विघटनको विरुद्धमा काँग्रेसले विपक्षी पार्टीसँग मोर्चाबन्दी निर्माण गरेको छ । त्यसको विरुद्धमा काँग्रेसले माओवादी केन्द्रसहितको एमालेको माधव नेपाल पक्ष र जसपाको उपेन्द्र यादव पक्षसँग मोर्चा बनाएको छ ।

उक्त गठबन्धनले न्यायिक लडाइका लागि सोमबार सर्वोच्च अदालतमा विघटित प्रतिनिधिसभाका बहुमत सांसदको हस्ताक्षरसहित रिट निवेदन दर्ता गराएको छ । बैठकले कोरोना महामारी र पार्टीको १४ औं महाधिवेशनबारे पनि छलफल गरेको थियो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार