इजलासमै उठ्यो वकिलहरुमाथि कारवाहीको माग

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले आचारसंहिता विपरीत काम गरेको भन्दै वकिलहरुलाई कारबाहीको माग गरेका छन् । संवैधानिक इजलासमा बमकुमार श्रेष्ठलाई राखिएकोमा आपत्ति जनाउने वरिष्ठ अधिवक्ता शम्भु थापा, रमणकुमार श्रेष्ठ, मुक्ति प्रधान, टिकाराम भट्टराई, गोविन्द बन्दी लगायतमाथि कानुन व्यवसायी आचारसंहिता लागू हुने भन्दै इजलासमै उनीहरूमाथि कारवाहीको माग उठेको हो ।

इजलासमा विवाद चलिरहेकै बेला उठेका महान्यायाधिवक्ता बडालले कानुन व्यवसायी आचारसंहिताविपरीत वरिष्ठ अधिवक्ताहरूले सभामुखलाई कानुनी सल्लाह दिएको विषय प्रवेश गराएका हुन् ।

कांग्रेस सभापति शेरवहादुर देउवा लगायत विघटित प्रतिनिधि सभाका १४६ जना सांसदले दायर गरेको रिटमा सभामुख अग्नि प्रसाद सापकोटालाई पनि विपक्षी बनाइएको छ । रिट निवेदन पक्षका वकिलहरूले विहीवार संसद भवनमा विपक्षीलाई कानुनी सल्लाह दिनु आचारसंहिता विपरीत र कारवाहीयोग्य विषय रहेको बडालको भनाई छ ।

‘कानुन व्यवसायी आचारसंहिताले कुनै पनि वकिलले पक्ष र विपक्ष दुवैको पक्षबाट पैरवी गर्न पाउँदैन । उहाँहरू रिट निवेदक पक्षको वकिल भएर आउने र विपक्षी सभामुखलाई कानुनी सल्लाह दिने कुरा आचारसंहिताविपरीत हो । उहाँहरूले हिजो सभामुखलाई के सल्लाह दिनुभयो ?’ बडालले भने ।

कानुन व्यवसायी आचारसंहिता विपरीत गर्ने कानुन व्यवसायीको लाइसेन्स निलम्बनदेखि खारेजीसम्मका कारवाही हुनेतर्फ महान्यायाधिवक्ताले इजलासको ध्यानाकर्षण गराएका हुन् ।

महान्यायाधिवक्ता बडाल बोलिरहँदा शम्भु थापा, रमण श्रेष्ठ, टीकाराम भट्टराई, गोविन्द बन्दी लगायतका कानुन व्यवसायी संवैधानिक इजलासमा नेकपा एकता बदर गर्ने न्यायाधीश बमकुमार श्रेष्ठ नैतिक रूपमा बस्न नमिल्ने भन्दै आपत्ति जनाइरहेका थिए । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार