जलजला गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट पारित : महामारी र विपदलाई प्राथमिकता

बेनी । पर्वतको जलजला गाउँपालिकाको आगामी आर्थिक बर्ष २०७८/०७९को लागि नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । बुधबार सम्पन्न गाउँपालिकाको दशौं गाउँसभामा गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले नीति तथा कार्यक्रम र उपाध्यक्ष सिमा गर्बुजा पुनले प्रस्तुत गर्नुभएको बजेट पारित भएको हो ।

प्रस्तुत बजेट, नीति तथा कार्यक्रमले नागरिकको स्वास्थ्य र जीवन रक्षाको लागि प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको हो । गाउँपालिकाले प्रस्तुत गरेको ४५ करोड १५ लाख ५० हजार रुपैयाँको बजेटमा ५०० मजदूरहरूका लागि मजदुर सञ्चयकोष कार्यक्रम पास गरेको छ । श्रम गरेर जीविकोपार्जन गर्दै आएका गाउँपालिकाभित्रका पाँच सय मजदूरलाई पहिलो चरणमा यो सञ्चयकोष कार्यक्रममा सहभागी गराइने र क्रमशः बाँकी मजदूरलाई समेत यो कार्यक्रममा सहभागी गराइने गाउँपालिकाका अध्यक्ष रामकृष्णले जानकारी दिनुभयो ।

कोरोना महामारीको पहिलो भेरियन्टदेखिनै निकै सक्रियतापूर्वक लागेको जलजला गाउँपालिकाले कोरोना महामारीको दोश्रो भेरियन्टमा समेत सबै नागरिकको पिसिआर परिक्षण र संक्रमितको उपचार नि:शुल्क गरिदिँदै आएको छ ।भने मृत्यु भएका परिवारलाई २० हजारका दरले राहत दिन बजेट विनियोजन गरिएको अध्यक्ष मल्लले वताउनुभयो ।

जलजलाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणलाई विशेष जोड दिएको छ भने बजेटको ठुलो हिस्सा पूर्वाधार र कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी र पर्यटनलाई प्राथमिकता दिईएको गाउँपालिकाका अध्यक्ष मल्लले जानकारी दिनुभयो । गाउँपालिकालेे चालु आर्थिक वर्षका कार्यक्रमलाई पनि आगामी वर्ष निरन्तरता दिने जनाएको छ ।

बजेटमा एकबकरोड ६० लाखको अध्यक्ष हातेमालो कार्यक्रम समेत समावेश गरिएको छ । यो बजेट अशक्त र असहाय बालबालिकाको शिक्षा तथा स्वास्थ्य र दलित, महिला तथा विपन्नहरूको आयआर्जनका लागि खर्च गरिने अध्यक्ष मल्लले वताउनुभयो । गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि डेढ करोड रूपैयाँ विनियोजन गरेको छभने निर्माण हुन बाँकी वडा नं २ र ८ का वडा कार्यालय भवन निर्माणको लागि समेत वजेट छुट्याइएको छ ।

गाउँ सभामा प्रस्तुत बजेट, नीति तथा कार्यक्रमले कालीगण्डकीको ढुङ्गा गिट्टी र बालुवालाई ब्यवस्थित ढंगले सञ्चालन गरि आन्तरिक आयलाई वृद्धि गर्ने, गाउँपालिकाभित्रका सबै सडकलाई स्तरोन्नति गर्ने, गाउँपालिकाभित्रको पर्यटन, कृषि, पशुपालन र जडीबुटीलाई प्रवर्द्धन गर्ने कार्यक्रम अघि सारेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।

बजेट मध्ये चालुतर्फ आठ करोड र पुँजीगत तर्फ १५ करोड २३ लाख ५० हजार रुपैयाँ र संघीय सरकारवाट प्राप्त सशर्त अनुदान २१ करोड ९२ लाख रुपैयाँ बिनीयोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष गर्बुजा पुनले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार