
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको प्रदेश २ सरकारबाट बर्खास्तीमा परेका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले आजै मन्त्री क्वाटर छाडेका छन् ।आइतबार बसेको जसपा प्रदेश २ संसदीय दलको बैठकले सोनलसहित राज्यमन्त्री सुरेश मण्डल, अभिराम शर्मा, डा.डिम्पल झालाई सरकारबाट बर्खास्त गरिएको थियो ।
मन्त्री सोनलले क्वाटरबाट निस्किँदा एउटा सुटकेश र एउटा झोला लिएर निस्केका छन् । उनी बाइक चढेर जनकपुरको मधेश भवनबाट निस्केका छन् । सोनल आफ्नो ३ वर्षे कार्यकालमा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिँदै मधेश भवनबाट विदा भएका थिए । सोनलले विदा हुनुअघि कर्मचारी, बुद्धिजीवि, मुख्यमन्त्री, मन्त्री, संचारकर्मी सबै पक्षले आफ्नो काममा गरेको रचनात्मक सहयोगको प्रशंसा पनि गरे का थिए ।
मन्त्री निवासबाट बाहिरिनु पूर्व उनले आफूलाई पार्टीले अन्य जिम्मेबार नदिएसम्म आफू प्रदेशमै रहेर जनता तथा पार्टीको हितमा काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । उनले रातोपाटीसँग कुरा गर्दै भने, ‘म मन्त्री रहुँ वा नरहूँ देश, प्रदेश र जनताको हित र विकासमा सदैव केन्द्रित भएर काम गरि रहनेछु ।’ उनले अगाडि भने, ‘पार्टीले दिएको जिम्मेवारी अनुसार प्रदेश २ मा काम गर्छु, जनकपुरमा डेरा जमाएर बस्छु ।’ रातोपाटीबाट