
काठमाडौं । बिहीबार सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशविरुद्ध नेकपा एमालेले ‘भ्याकेट’(अन्तरिम आदेश खारेजीको माग)मा जाने तयारी गरेको छ ।
न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कर्णाली प्रदेशका ४ जना सांसदमाथि एमालेले गरेको कारबाहीलाई बदर गरेर पुनःबहाली गर्न अन्तरिम आदेश दिएको थियो ।
आदेशमा केन्द्रीय कमिटीले राजनीतिक दलसम्बन्धी ऐनअनुसार सांसद् एवम् पार्टी सदस्यमाथि प्रष्टीकरण सोध्न र कारबाही गर्ने अधिकार महाधिवेशन आयोजक कमिटीलाई नहुने ठहर गरेको छ । जसले महाधिवेशन आयोजक कमिटीका नाउँमा अध्यक्ष केपी शर्मा ओलीले असहमत हुने पक्षलाई चलाउँदै आएको कारबाहीको दण्डा रोकिने भएको छ ।
कर्णाली प्रदेशसभाका बारेमा सर्वोच्चले गरेको आदेशमाथि ‘भ्याकेट’मा जाने एमाले नेता सुवासचन्द्र नेम्वाङले बताउनुभयो । “हामी प्रक्रियालाई मान्छौँ । हिजो कर्णालीबारेको आदेशमा सबै हिसाबले केही प्रश्नहरु छन्, त्यसलाई लिएर हामी प्रक्रियाबमोजिम अघि बढ्छौँ । हाम्रो तर्फबाट भ्याकेटमा जान्छौँ,” नेम्वाङले भन्नुभयो । नागरिक खबरबाट