पोखरा । मनाङको नासों गाउँपालिका–३ धारापानीमा मर्स्याङ्दी नदीले गाउँपालिकाको कार्यालय, प्रहरी चौकी, प्राइम बैंक र प्रभु बैंकको कार्यालय र केही होटल बगाएको छ।
बुधबार दिउँसो नदीमा आएको बाढीले उक्त संरचना बगाएको मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले बताउनुभयो। उहाँका अनुसार बैंकमा कार्यरत १ जना कर्मचारी हराएका छन्। सम्पर्कविहीन भएका ती कर्मचारीका बारेमा बुझ्न धारापानी प्रहरी चौकीका प्रहरी खटाएको डिएसपी खड्काले बताउनुभयो। बाढी र पहिरोका कारण मनाङमा एउटा गाउँबाट अर्को गाउँमा जान सक्ने अवस्था नरहेको स्थानीयले जनाएका छन्।
अहिले पनि निरन्तर पानी परिरहेकाले उद्धारमा समेत जान नसक्ने अवस्था आएको उनीहरूको भनाइ छ। डिएसपी खड्काले गृह मन्त्रालयले पठाउने भनेको हेलिकप्टर अहिलेसम्म आउन नसकेको जानकारी दिनुभयो। मौसममा सुधार नआएकाले हेलिकप्टर आउन नसकेको उहाँको भनाइ छ।जस्तोसुकै परिस्थितिमा पनि जनधनको क्षति हुन नदिन मनाङ प्रहरी लागि परेको उहाँले बताउनुभयो।
सदरमुकाम चामे र ताल गाउँ बाढीले डुबानमा परे पनि थप क्षति भएको छैन। मंगलबार चामेका ६ घर बाढीले बगाएको थियो भने ताल गाउँका ४८ घर मर्स्याङ्दी नदीको डुबानमा परेको छ। सेतोपाटीबाट