सार्वजनिक यातायात सञ्चालन गर्न माग राख्दै व्यवसायीले बुझायो ज्ञापनपत्र

काठमाडौं । सार्वजनिक यातायात सञ्चालन गर्न माग गर्दै यातायात व्यवसायीहरुले सरकारसमक्ष ज्ञापन पत्र बुझाएका छन् । सोमबार सुन्दर यातायात प्रालिका अध्यक्ष भेष बहादुर थापाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै सार्वजनिक यातायात सञ्चालन गर्न सहजीकरण गर्न माग गर्नुभयो ।

लामो समयसम्मको निषेधाज्ञाले यातायात व्यवसायी तथा श्रमिकहरु प्रत्यक्ष मारमा रहेकाले निश्चित स्वास्थ्य मापदण्ड पालना गरी तत्काल सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण हुनुपर्ने उहाँले बताउनुभयो ।

लामो समयसम्म सार्वजनिक यातायात सञ्चालन नभए यसले देशको अर्थतन्त्रमा समेत संकट पर्ने उहाँको भनाइ छ । उहाँले उच्च सतर्कता अपनाई सार्वजनिक यातायात सञ्चालन गर्ने कुरामा कुनै दुविधा नराख्न पनि आग्रह गरे ।

ज्ञापन पत्र बुझ्दै सचिव श्रेष्ठले अब कोरोना संक्रमण घट्दै गएपछि सार्वजनिक यातायात पनि खुल्ने विश्वास गर्नुभयो । उहाँले यातायात व्यवसायीको मागका बारेमा सिसिएमसीलगायत सम्बन्धित निकायमा कुरा राख्ने प्रतिबद्धता जनाउनुभयो ।

यसअघि उपत्यकाका प्रशासन कार्यालयले मंगलबारदेखि उपत्यकामा जोरबिजोर प्रणालीका आधारमा निजी सवारीसाधान सञ्चालन गर्ने निर्णय गरेपछि व्यवसायीहरुले पनि सार्वजनिक यातायात खोल्नुपर्ने माग गरेका हुन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार