अपडेट : पहिरोले थुनिएको गुर्जा खोलाको अवस्था यस्तो छ (फोटो फिचर)

म्याग्दी । पहिरोले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जाखोला ओभरफ्लो भएर प्राकृतिकरूपमा बग्न थालेपछि सम्भावित जोखिम हटेको छ । गुर्जाको खास्का भन्ने ठाउँमा शनिबार दिउँसो पहाड भत्किएर पहिरो खस्दा थुनिएको खोला रातिदेखि ‘ओभरफ्लो’ भएर बग्न थालेको हो ।

खोला थुनिएर बनेको तलाउबाट पानी बग्न थालेपछि तटिय क्षेत्रमा रहेको जोखिम कम भएको पहिरो स्थलको स्थलगत निरिक्षणमा पुग्नुभएका गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

पहाड खसेर लामो समय खोला थुनिएर बनेको तलाउको पानी बग्न थालेको र तलाउको सतह घट्दै गएको वडा अध्यक्ष छन्त्यालले जानकारी दिनुभयो । अध्यक्ष छन्त्यालको नेतृत्वमा स्थानीय स्थानीय राम छन्त्याल र सौगात छन्त्यालको टोली आईतवार विहानै पहिरो स्थलमा पुगेर निरिक्षण गरेका थिए ।

गुर्जा र चुरेन हिमालको फेदीमा मुहान भएको गुर्जाखोला म्याग्दी नदीको सहायक खोला हो । धवलागिरि–४ मुदीमा गुर्जाखोला म्याग्दी नदीमा मिसिन्छ । सदरमुकाम बेनीमा आएर म्याग्दी खोला कालीगण्डकीमा मिसिन्छ ।

पहिरो खसेर खोला थुनिएको ठाउँमा पुग्न गुर्जाबाट दुई घण्टा बढी पैदल हिँड्नुपर्छ । दुवै किनारमा भिर भएको साँघुरो खोँचमा पहिरो खसेर खोला थुनिएको खेतमा काम गर्न गएका किसानले देखेपछि खबर गरेका थिए । तस्बिर सौजन्य : वडा अध्यक्ष झकबहादुर छन्त्याल 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार