विदेशी मुद्रासहित दुईजना भारतीय नागरिक पक्राउ

मोरङ । विराटनगरमा दुईजना भारतीय नागरिक प्रतिबन्धित भारतीय रूपैयाँ र अमेरिकी डलरसहित शुक्रबार पक्राउ परेका छन्। भारतको उत्तर प्रदेश लखनउका ३५ वर्षीय सन्दीप सिंह र ३४ वर्षीय अतुल कुमारलाई विदेशी मुद्रासहित पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ।

शुक्रबार दिउँसो १ बजेतिर भारतको जोगबनी हुँदै नेपाल आउँदै गरेको उनीहरूलाई विराटनगर महानगरपालिका–१७ स्थित मटेरुवा नाकाबाट पक्राउ परेको बताउँदै, मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले भने, ‘शंका लागि चेक गर्दा उनीहरूको साथबाट नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ २ लाख ८ हजार ५ सय भारतीय रूपैयाँका साथै २ हजार २ सय १४ डलर अमेरिकी डलर बरामद गरिएको छ।’

पक्राउ परेका अतुलसँग प्रतिबन्धित भारतीय रूपैयाँ ५ सय दरका २ सय थान र सन्दीपका साथबाट प्रतिबन्धित भारतीय रूपैयाँ ५ सय दरका २ सय १७ थान तथा अमेरिकी डलर १ सय दरको २१ थान, २० दरको ५ थान, १० दरको १ थान र १ दरको ४ थान बरामद गरेको डिएसपी श्रेष्ठले बताए। पक्राउ परेका भारतीय नागरिकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाएको प्रहरीले जनाएको छ। यसैबीच विराटनगरबाट लागुऔषधसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ।

मोरङको लेटाङ नगरपालिका–६ का २२ वर्षीय रमेश पाँचकोटीलाई लागुऔषधसहित नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो र सशस्त्र प्रहरीको बिओपी पोस्ट दरैयाको संयुक्त टोलीले पक्राउ गरेको हो। भारतको जोगबनीबाट लागुऔषध ल्याउँदै गर्दा विराटनगर महानगरपालिकट पाँचकोटीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पाँचकोटीको साथबाट लागुऔषध लुपिजेसिक, डाइजेल्याब, एभिल र फेनारगन गरेर १५–१५ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार