युरोकप र कोपा अमेरिकामा सट्टेबाजी खेलाएको आरोपमा ३४ लाखसहित आठ जना पक्राउ

काठमाडौं । युरोकप र कोपा अमेरिका फुटबल खेलमा अनलाइनमार्फत् सट्टेबाजी खेलाएको अभियोगमा प्रहरीले ८ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ३४ लाख ६५ हजार ५०५ रुपैयाँसहित सोमबार पक्राउ गरेको हो। प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार पक्राउ परेकामध्ये तीन जना भारतीय नागरिक छन्।

पक्राउ पर्नेमा काठमाडौं-४ सुकेधाराका ५७ वर्षीय राजेन्द्र श्रेष्ठ प्रधान, काठमाडौं-१९ ढोकाटोलका ४७ वर्षीय जीवन लामा, पर्सा वीरगञ्ज नगरपालिका-७ घर भई हाल कुलेश्वर बस्ने ४६ वर्षीय सुरज टिवडेवाल, चितवन खैरहनी नगरपालिका-५ घर भई हाल धापासी बस्ने ४५ वर्षीय गोविन्दप्रसाद आचार्य, विराटनगर-७ घर भई हाल मरूटोलका ४६ वर्षीय अमरनाथ गुप्ता छन्।

यस्तै, पक्राउ पर्ने भारतीय नागरिकमा बिहार पूर्वी चम्पारण रक्सौलका ४६ वर्षीय अशोककुमार गुप्ता, भारत हरियाना विवरनी घर भएका ४९ वर्षीय राजेशकुमार अग्रवाल र राजस्थान झुनझुन जिल्लाका ३३ वर्षीय सुचित डालमिया अग्रवाल छन्।

गुपेता कुलेश्वर, अग्रवाल इन्द्रचोक र डालमिया क्षेत्रपाटी बस्दै आएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ। इन्द्रचोक, मरूटोल, न्युरोड, क्षेत्रपाटी, गौरीघाटलगायत ठाउँमा उनीहरूले ह्वाटसअपमार्फत् नगदी कारोबार गरिरहेको अवस्थामा पक्राउ गरिएको अनुसन्धान कार्यालयले जनाएको छ।

‘ठूलो रकमको बाजी राख्न लगाएर बाजी राख्दा जितिने भन्दै लाभ लिने उद्देश्यले सट्टेबाजी खेलाइएको पाइयो,’ अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुबेर खापुङले बताउनुभयो। उनीहरूले हालसम्म के कति मात्रामा सट्टेबाजी खेलाए भनी प्रहरीले उनीहरूको मोबाइल अनुसन्धान गरिरहेको छ।

खेलमा जित-हारपछि हार्नेहरूले प्रहरीलाई खबर गरेका थिए। युरो कपका कतिपय दाबेदार टिम खेलबाट बाहिरिएपछि प्रहरीमा खबर पुगेको थियो। ‘उनीहरूले ह्वाट्स एपमार्फत् कारोबारको डिल गरेको देखिएको छ,’ खापुङले भन्नुभयो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार