लुम्बिनी प्रदेशकी मन्त्री पाण्डे सिकिस्त बिरामी

बुटवल । लुम्बिनी प्रदेशकी उद्योग वन तथा वातावरणमन्त्री कल्पना पाण्डे लम्साल गम्भीर विरामी पर्नुभएको छ। आईतबार रातिदेखि अचानक दुवै खुट्टा नचल्ने र शरीर शिथिल बन्दै गएपछि काठमाडौंको नर्भिक अस्पतालमा मन्त्री पाण्डेको उपचार भईरहेको छ।

जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षबाट लुम्बिनी प्रदेशसभामा समानुपातिक सदस्य बनेकी पाण्डे पहिलो पटक गत वैशाख ६ गते र दोस्रो पटक वैशाख १९ गते मन्त्री नियुक्त हुनुभएको थियो।

आइतबार दिनभर विभिन्न कार्यक्रममा सहभागि भएकी पाण्डे रातीदेखि अचानक विरामी परेपछि रुपन्देहीको भैरहवा र बुटवलहुँदै काठमाडौं पुर्‍याईएको हो। मन्त्री पाण्डेका पति नवराज लम्सालले चिकित्सकले उनलाई न्युरोसम्बन्धी रोग (जिडिएस) भएको जानकारी गराएको र सोही अनुसार उपचार भईरहेको बताउनुभएको छ।

चिकित्सकले ईम्युनोसिस्टम कमजोर बन्दै गएर खुट्टा नचल्ने र शरीर शिथिल बन्दै गएको बताउनुभयो पनि के कारण यस्तो भएको भन्ने यकिनसाथ भन्न नसकिएको लम्सालले जानकारी दिनुभयो। ‘के कारण यस्तो भएको हो चिकित्सकले पनि यसै भन्नुभएको छैन, कोभिड विरूद्धको खोपको कारण पनि यस्तो समस्या देखिन सक्ने बताउनुभएको छ,’ लम्सालले भन्नुभयो।

लम्सालका अनुसार मन्त्री पाण्डेले गत असार २३ गते लुम्बिनी प्रादेशिक अस्पतालमा कोभिशिल्डको दोस्रो डोज खोप लगाएकी थिईन्। खोप लगाएको तीन सातासम्म खोपको असर नदेखिए पनि २१ दिनपछि अचानक खुट्टा नचल्नुका साथै शरीर शिथिल बन्दै गएको थियो।

मन्त्री पाण्डे गत आईतवार दिनभर रूपन्देहीमा महिलाले सञ्चालन गर्न लागेको अस्पतालको शिलान्यास कार्यक्रममा सहभागि हुनुभएको थियो। साँझ खाना खाएर सुत्ने समयमा अचानक दुवै खुट्टाको घुँडादेखि तल झमझम बन्दै चल्न बन्द भएपछि युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज भैरहवा लगिएको थियो।

पछि मुटुको समस्या हुनसक्ने भन्दै उनलाई बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा ल्याईएको थियो। भैरहवा र बुटवलमा परीक्षण र उपचार गर्दा नशासम्बन्धि समस्या देखिएपछि उहाँलाई काठमाडौं लगिएको पति लम्सालले बताउनुभयो।

शुरूमा खुट्टाको घुँडादेखि तल नचल्ने हुँदै उहाँको अहिले झमझम गर्ने र नचल्ने क्रम कम्मरसम्म पुगेको छ।मंगलबारदेखि भने कमजोर बन्दै गएको ईम्युनोसिस्टम बढाउने सुई लगाउन शुरु गरिएको लम्सालले बताउनुभएको छ।

ईम्युनोसिस्टम बढाउने एउटै सुईलाई १८ हजार पर्ने र दैनिक ६ वटा सुई लगाउनुपर्दा उपचारमा आर्थिक समस्या भएको उहाँले बताउनुभयो। ‘चिकित्सकले एकै दिनमा सवालाखको सुई मात्रै लगाउनुपर्छ भन्नु भएको छ, उपचार पद्धति महंगो भए पनि कहिलेसम्म रोग निको हुन्छ भनेर चिकित्सकले पनि भन्न सक्नुभएको छैन’, उहाँले भन्नुभयो।

यसैबीच जनता समाजवादी पार्टी (जसपा)ले मन्त्री कल्पना पाण्डे लम्सालसहित लुम्बिनी प्रदेशका तीन सांसदलाई कारबाही गर्ने तयारी गरेको छ।जसपा कार्यकारिणी समितिको मंगलबार बसेको बैठकले लुम्बिनी प्रदेश सरकारमा सहभागी सांसदहरुलाई बर्खास्त गर्न प्रदेशका सभामुखलाई पत्र लेख्ने निर्णय गरेको हो।

प्रदेश सांसदहरु विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल र सन्तोष पाण्डेलाई सांसदबाट निश्कासन गर्न पत्र पठाउने निर्णय भएको एक कार्यकारिणी सदस्यले बताउनुभयो।यसअघि विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल, सन्तोष पाण्डे र सुमन शर्मा रायमाझीलाई जसपाको बहुमतले निष्कासन गर्ने निर्णय गरेको थियो।

बहुमतको निर्णयकै आधारमा प्रदेशका सभामुखले उनीहरुलाई निष्कासन गरेका थिए। तर उनीहरुलाई सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएको थियो। रायमाझी भने यसअघि सरकारबाट बाहिरिक्नुभएको छ। जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले आधिकारीकता पाएको भोलिपल्टै उनीहरु कारबाहीमा परेका हुन्। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार